Welcome to my opinions' world.........purely personal...

Home

06 December 2011

हजुरआमा मैँले जे देखेँ-३; हरे राजनीति !!


हजुरआमा, बिहान हतार हतार उठेर कलेज गएर एउटा क्लासपनि राम्ररी लिन भ्याएको हुदैन, साथीहरुको पछि पछि लागेर खाल्डोको चिया पसल गएर चियाको चुस्की लिन गइहालिन्छ । अब पसलमा चिया कुर्ने अनि चुस्की हाल्ने क्रममा गफ गाफ त हुने नै भयो । पसलमा उपलब्धहुने पत्रिकामा आँखा गई नै हाल्छ । पत्रिका पढ्ने क्रममा हेडलाइनबाटै शुरु गर्ने गरिन्छ, स्वभाविक नै हो । अब नेपालका अधिकांश पत्रिकका हेडलाइन त राजनैतिक नै हुन्छन, एउटा आधा पढ्न राम्ररी भ्याएको हुदैन अर्कोको टुटेफूटेको विश्लेषण शुरु हुन्छ ।

''यी नेताहरुले कहिल्यै पनि देशलाई उभो लगाउने भएनन् । हिजो देश र जनताका लागि त्यत्रो संर्घष गरेर आएकाको त यो ताल छ, अरु बसि खाइ गरेर राजनीति गर्नेका त के कुरा गर्नु ?'' एकबिहानै नेताहरुलाई गाली गरेर विश्लेषण शुरु हुन्छ । ''हो त हेर्न, जहिले नि कुर्सी भनेका छन्, सत्ता भनेका छन्, जनताको दुखः, पीर यीनिहरुलाई कहिल्यै मतलब हुने भएन,'' अर्कोले थप्छ । यसै बिचमा अर्काले अलिकति बुझेको जस्तो गरेर सकारात्मक काम पनि भइरहेको र संक्रमणकालमा यस्तै हुने ब्योहराको जानकारी राख्दछ । लौ हुटिट्याउले सगर थामेको मैँले देखेँको छैन, सबैका कुरालाई सम्मान गरे जस्तो गर्दै क्लास लैजाने पहल म नै गर्छु । तपाई नाति भएको सार्थकता पनि त जनाउनु पर्यो नि हैन, हजुरआमा?

हजुरआमा, अब क्लास लागि भनेर त आइयो, तर सबै विद्यार्थी त बाहिरै छन् भन्ने खबर आइपुग्न बेर लाग्दैन । कारण त सधैँ जस्तै त होला नि, कुन विद्यार्थी नेतालाई के चित्त बुझेन जस्तो छ आज पनि । लौ यस्तै हुन्छन् नेपालका कलेज भनेर झोला बोकेर कोठा आइपुग्दा सम्म बाटोमा, गाडिमा अनि कोठा पुग्ने गल्लीमा भेटिएका मानिसहरुको राजनैतिक विश्लेषणले कान अछुतो रहन सक्दैन । कोठामा आइपुग्दा परै सम्म प्रष्टै सुनिने रेडियोमा घन्कीरहेको हुन्छ, ''डा. भट्टराईको अमेरिका भ्रमण फलदायक, आज स्वदेश फर्किने'' । त्यति नै बेला, मेरा सम्झनामा आफ्नै साथीहरुको सर्कलमा अलिकति फरक बिचार प्रकट गर्नेलाई उग्रवामपन्थी, प्रतिगामी र वैद्य पक्षधर भनेर ब्यङ्ग गरेको कुरा पनि आइपुग्छ । हरे राजनीति !!

हतार हतार अफिसका लागि हिडेपनि सवारी सधान देखि बसस्टाण्डसम्म राजनीतिकै कुरा हाबि हुन्छन्, प्रत्येक छलफलमा । आ-आफ्ना विश्लेषण र आ-आफ्नै तर्क । सबैको तर्कमा उस्तै जोश, जुन आफैँमा धेरै शक्तिशाली छन्, लबजबाटै सहज अनुमान लगाउन सकिन्छ । यो पंक्तिकारले मसिनो मुस्कान सहित खुशि व्यक्त गर्छ, हाम्रा देशका प्रत्येक जनता देशका लागि कत्ति चिन्तीत छन्, यी तीनै जनता हुन, यी तिनै विद्यार्थी हुन जसले २४० वर्ष पुरानो शासन संरचनाको जरो उखालेर फ्याँके । हो यी तिनै जनता हुन जो राजनैतिक कुराका चेतना अधिक राख्दछन् । देशमा शासन गर्नेहरुले तलमाथि गरेमा जस्तो पनि परिणाम भोग्न सक्छन् वा यी जनताको धैर्यको सिमा नाघेमा कोहि बाँकि रहने छैनन् । २००७ देखि अहिलेसम्मका प्रत्येक क्रान्तिका साक्षी बनेका यी जनताले आफूलाई सुहाउँदो शासन ल्याउन, बिकासका चाहना पूरा गर्न जस्तो सुकै क्रान्ति गर्न पनि तयार हुनेछन् । साँच्चै खुशिको कुरा हो ।

अफिस आइपुग्दासम्म मेरो मुस्कानले मेरो साथ छोडिसकेको हुन्छ । मेरो मनले ६२/६३को आन्दोलन ताका राष्ट्रिय झन्डा भन्दा राजनैतिक झन्डाको संख्या धेरै भएका कुरा सम्झन पुग्छ । हामी राष्ट्रको हित बिचार गरेर आन्दोलनमा होमिएको थियौ कि हाम्रो पार्टीको स्वार्थका लागी अघि बढेका थियौ भनेर प्रश्न गर्छ । अघि सम्म खुशि भएको मेरो नाती किन एक्कासी दुःखी भयो भनेर तपाईले अनुमान लगाइसक्नु भयो होला हैन ?, हजुरआमा । हो तपाईको अनुमान सहि हो, यो राजनैतिक विश्लेषणको बिचमा, हो हल्लाको बिचमा खै त आर्थिक कुराका टिप्पणी । आफ्ना विगतका राजनैतिक सफलताको बडाई चढाई गर्दा फुरुङ्ग पर्ने हाम्रो मन किन देशको ब्यापार स्थिति नाजुक हुदाँ अलिकति पनि खुम्चन मान्दैन । बिहार जस्तो राज्यले पनि दोहोरो अङ्कको आर्थिक बृद्धिदर हासिल गर्दा प्रत्येक बजेट भाषणमा प्रक्षेपण गरिएको बृद्धिदरको छेउछाउ पनि कहिल्यै नपुग्दा किन रत्तिभर पीर मान्दैन हाम्रो मन ? किन नेप्से परिसूचकको समाचार बज्दा रेडियोको च्यानल परिवर्तन गर्न उदृत रहन्छौ हामी ? दस वर्षे तथाकथित जनयुद्धको प्रत्येक कुरालाई सम्बोधन गरिन खोज्दै गर्दा किन भत्केका संरचनाको पुनः निर्माण पनि हुने खबर हामी सुन्न पाउदैनौ ? राजनीतिको कुरा सधैँ गरिरहँदा, अर्थ-राजनैतिक कुरा गर्न हामी किन पछि परिरहेका छौ ?

हजुरआमा, म स्कूले विद्यार्थी हुँदा मेरा एकजना शिक्षकले भनेको कुरा अझै पनि झल्झलि सम्झन्छु, ''दुनियाँले जुनमा पुगे पनि, हामी नेपालीहरु सधैँ नूनमा झुन्डिरहने छौ''। वास्तवमा एक अर्थमा यो कुराको सार्थकता अहिले पनि उत्तिकै छ । सँगैका राष्ट्रहरुले आर्थिक उन्नतिको शिखरमा पुग्दा पनि हामी अझै पनि खच्चरलाई नून बोकाएर डाँडा पारी पुर्याउन नै अभयस्त छौ । त्यसैले अरुले बुझुन नबुझुन हजुरआमा, मैँले भने बुझको छु, यदि राष्ट्रको सहि अर्थमा आर्थिक बिकासको चाहाना राख्ने हो भने, आर्थिक मुद्दाको बहस हुनु पनि उत्तिकै जरुरी हुन्छ । प्रत्येक नागरिकको बुझाइमा आर्थिक मुद्दा पनि राजनैतिक मुद्दा जत्तिकै सहज रुपमा लबजमा उपलब्ध हुनु पर्छ । नत्र सधैँ यस्तै राजनैतिक बहस मात्रै हुने हो भने आर्थिक उन्नति आकाशको फल आँखाँ तरी मर भने जस्तै मात्रै हुनेछ, र प्रत्येक दिन खस्रो राजनैति मन्त्र मात्रै जप्ने हैसियतमा हामी हुने छौ- प्रत्येक नेपालीले सधैँ बिहान घण्टी बजाउँदै भन्ने छौ, हरे राजनीति हरे राजनीति !!

01 December 2011

एचआईभी र एड्स: कहाँ छ नेपाल??



इतिहास

सन् १९८३ मा सर्वप्रथम एचआईभी र एड्सको अवस्था गराउने जीवाणु एचआईभी पत्ता लागेको पाँच वर्षपछि सन् १९८८ मा नेपालमा पनि पहिलो पल्ट एचआईभी भएका ४ जना व्यक्तिहरू फेला परे । त्यतिबेलासम्म एचआईभी र एड्स विश्वव्यापी महामारीको रूपमा संसारभरि फैलिसकेको थियो । संसारका विभिन्न देशहरूमा एचआईभी र एड्स भएका व्यक्तिहरू पत्ता लागेको तथ्य सार्वजानीक भइरहेका थिए ।

नेपालमा पहिलोपल्ट एचआईभी भएका व्यक्तिहरू पत्ता लाग्ने बित्तिकै नेपाल सरकारमा स्वास्थ्य मन्त्रालयमा कार्यरत निकायले तत्काल राष्ट्रिय एड्स नियन्त्रण प्रोजेक्ट (National AIDS Control Project) को शुरूवात गरे पनि उच्च नीति निर्माणमा बसेका नीति निर्माताहरू र राजनैतिक दल र सरकारको प्राथमिकतामा एचआईभी र एड्सको रोकथाम तथा नियन्त्रण परेको थिएन ।

शुरूमा केही वर्षहरूमा एचआईभी र एड्स महामारी हो, अमेरिका, युरोप जस्ता स्वच्छन्द यौन व्यवहार गर्ने देशहरूको समस्या हो, यसको प्रभाव नेपालमा पर्दैन भन्ने नकारात्मक अवधारणा सरकार, सर्वसाधारण एवं सञ्चार माध्यम समेतको रहेको थियो । फलस्वरूप सरकार, नीतिनिर्मातामा र निर्णयले यसप्रति ध्यान नलिएको अवस्थामा बाह्रय दाताहरूको आर्थिक प्राविधिक सहयोगमा एचआईभी र एड्स सम्बन्धी जनचेतना जगाउने, शिक्षा र सूचना सामग्रीहरू उत्पादन र वितरण गर्ने एवं एचआईभी परीक्षण गर्ने जस्ता सीमित कार्यक्रमहरू यसै संस्थाबाट संचालन गरिएको थियो ।

केन्द्रीय स्वास्थ्य प्रयोगशाला र एउटा उपशाखाबाट शुरू गरिएको कार्यक्रम विश्व स्वास्थ्य संगठन, यूनएड्स जस्ता संस्थाहरूको पहलमा १ वर्षपछि सन् १९८९ मा स्वास्थ्य मन्त्रालयको एउटा केन्द्रको रूपमा ‘राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र’ छुटै निकायको रुपमा गठन भयो । उक्त केन्द्रको स्थापना पछि सूचना, शिक्षा र संचारबाहेक नेपालमा एचआईभी सम्बन्धी सेन्टीनेल सर्भिलेन्स र यौनरोग रोकथाम, नियन्त्रण र उपचारका कार्यक्रम पनि थपिए ।

त्यतिबेलासम्म एचआईभी महामारी संसारभरि दु्रतरूपमा फैलिसकेको थियो र थाइल्याण्ड, म्यान्मार, भारत जस्ता एशियाली देशहरूमा व्यापक रूपमा विभिन्न जोखिमपूर्ण समूहहरूमा एचआईभी र एड्स महामारीलाई विभिन्न देशमा सरकारहरूले गम्भीर समस्याको रूपमा स्वीकार गरेर रोकथाम नियन्त्रणका लागि नीति, रणनीतिहरू निमार्ण गरी कार्यक्रमहरू संचालन गर्न थालेका थिए ।

संसारभरि एचआइभी र एड्स महामारीलाई आयामिक, बहुपक्षीय समस्याको रूपमा हेर्न थालिएको र यसको रोकाथाम र नियन्त्रणका लागि बहुपाक्षिक सम्बोधन हुनुपर्ने र त्यस अनुरूप उच्च प्राथमिकताको कार्यक्रममा पारेर कार्यक्रमहरू संचालन भैरहँदा नेपालमा स्वास्थ्य मन्त्रालय एउटा निष्प्रभावी संस्था भइरहेको अवस्था थियो ।

विभिन्न दातृसंस्थाहरू खासगरी एमफार जस्ता संस्थाले सन् १९९१–१९९५ ताका, नेपालमा निभिन्न गैरसरकारी संस्थाहरू मार्फत व्यापक जनचेतना र शिक्षा संचार कार्यक्रमहरू संचालन गरे र फलस्वरूप गैरसरकारी संघसंस्था, र दातृनिकायहरू र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC)को वकालत र पहलमा सन् १९९५ मा नेपाल सरकारले एचआईभी र एड्स रोकथाम र नियन्त्रण सम्बन्धी १२ बुँदै नीति निमार्ण गर्यो, जुन हालसम्म चलिरहेको छ र यसमा समय संशोधन र परिमार्जन भएको छैन ।


यस नीतिमा एचआईभी र एड्सलाई बहुआयामिक राष्ट्रिय समस्याको रूपमा पहिचान गरी सरकारलाई विभिन्न मन्त्रालय र विभागहरू, गैरसरकारी, नागरिक समाज र निजी संघसंस्थाबाट एचआईभी भएको कारण विभेद गर्न नपाइने, परामर्श र परीक्षण सेवा विस्तार, यौनरोग नियन्त्रण र उपचार, सुरक्षित रक्त संचार सेवा, गोपनीयताको अधिकार सुनिश्चित गर्ने नीतिहरू समावेश गरिए ।

यो नीति कार्यान्वयन गर्न आवश्यक रणनीति निर्माण गर्ने कार्यक्रमहरू पनि तयार गरी कामको थालनी भयो–जसअनुसार राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (NCASC)को समन्वयमा राष्ट्रिय एड्स समन्वय समिति (NACC) र जिल्ला एड्स समन्यव समिति(DACC)जस्ता राष्ट्रिय र जिल्लास्तरीय समन्वयकारी संयन्त्रहरू निर्माण गरिए र सरकारी र गैरसरकारी संघसंस्थाहरूबाट सञ्चालित कार्यक्रमहरू समन्वय रूपमा र प्रभावकारी रूपमा संचालन गर्न उक्त निकायहरू साझेदारी र सहयोगी रूपमा संचालन गरिए ।

त्यस अवधिमा एचआईभी र एड्स सम्बन्धी सर्वेक्षण र परिक्षण कार्यक्रमहरू बिस्तार गरिए र विभिन्न जोखिमपूर्ण जनसंख्या समूहहरूमा गरिएका सर्वेक्षण अनुसार एचआईभी यौनव्यववसायी र तिनमा ग्राहकहरू, सुईद्वारा लागूपदार्थ सेवन गर्नेहरूमा देखा पर्न थालेको थियो । साथै एड्सको अवस्थामा पुगेका व्यक्तिहरूको संख्या पनि बढ्दै गईरहेको थियो – त्यसैले ती समूहरूमा नियमित सर्वेक्षण, प्रकृति र विस्तार अनुगमन गर्ने कार्यहरू थपिए ।

सन् १९९०–१९९५ ताका गरिएका अनुगमन सर्वेक्षणहरू देखाएका न्यून एचआइभी संक्रमणको दर (HIV Prevalence Rate)केही वर्षको अन्तरालमा दु्रतरूपमा फैलिएर सन् २००० सम्म यौनव्यवसायीमा झण्डै १७ प्रतिशत र लागूपदार्थ सेवन गर्नेहरूमा ह्वातै बढेर ६७ प्रतिशत पनि फेला पर्यो, सन् २०००–२००१ मा गरिएका दुईवटा सर्वेक्षणहरूः स्थिति सर्वेक्षण (Situation Analysis) र अनुक्रम सर्वेक्षण (Response Analysis)ले बनाउनु पर्ने, समाज र कार्यस्थलमा हुने भेदभाव र लाञ्छना अन्त्य गर्नुपर्ने र उपचार, स्याहार र सहयोगका कार्यक्रमरू थपिनुपर्ने सुझावसहितको प्रतिवेदन दिए ।

जसअनुसार पहिलोपल्ट नेपालम पाँचवर्षे राष्ट्रिय रणनीतिको एचआईभी र एड्स रणनीीत(२००२–२००६) को विकास भयो जसमा रोकथाम, नियन्त्र बाहेक स्याहार, सुसार र उपचार सेवाहरूको स्थापना र विस्तार, अवसरवादी संक्रमण र एआरभी जस्ता सेवाहरूको विस्तार गर्ने, बहुपक्षीय संलग्नता र सभझेदारी नीतिगत संरचना र संयन्त्रहरू निर्माण गर्ने जस्ता कुराहरू समेटिए ।

सन् १९९५ मा बनाइएका एचआईभी र एड्स सम्बन्धी नीतिले यी व्यापक क्षेत्रहरू समेट्न नसकेको र नयाँ मुद्दाहरू पहिचान भएकोले यसको संशोधन र परिमार्जनको आवश्यकता महशुस भएपनि यसको लागि प्रयासहरू भएपछि यसको लागि प्रयासहरू भएपनि हालसम्म यो संशोधन र परिमार्जन सम्पन्न भएको छैन ।

यस अवधिमा, एचआईभी र एड्स रोकथाम र सेवामा सबैको पँहुच (Universal Access) र सहस्राब्दी विकास लक्ष्यहरू (Millinium Development Goal) जस्ता नेपालको हस्ताक्षर गरेका प्रतिबद्धता पत्रहरूमा लिएका लक्ष्यहरू पूरा गर्न भइरहेको छ । यस सन्र्दभमा नेपालले उच्चतम तहमा राजनीतिक उदारणस्वरूप, प्रधानमन्त्रीको अध्यक्षता गठन भएको राष्ट्रिय एड्स परिषद् (NAC)को बैठक ५÷६ वर्ष पछि हाल सम्पन्न भएको छ ।

त्यस्तै राष्ट्रिय र जिल्लास्तरीत संयन्त्रहरू राजनीतिक अस्थिरता, अन्योल र दशक लामो द्वन्द्वले गर्दा प्रभाकारी बोर्ड (NHSCB)र राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्र केन्द्र (NCASC)मा कर्मचारीहरूको हेरफेर र अस्थिरताको निवाएह गर्नुपर्ने जिम्मेवारी प्रभावकारी हुननसकेको र ती महत्वपूर्ण निकायहरूमा संस्थागत क्षमता विकास (Institutional Capacity Building)हुन नसकेकोले नेपालमा एचआईभी र एड्स कार्यक्रम शुरू भएको दुई दशक भन्दा बढी समय अवधि बितिसक्दा पनि दातृनिकाय बहुपक्षीत, द्विपक्षीत (Multilateral/Bilateral Donors) हरूमा प्राविधिक निरभर्ता कायम छ र देशमा विकसित हुनुपर्ने क्षमता नभएको कारण ग्लोबल फण्ड जस्ता कार्यक्रमहरू सरकारी निकायले संचालन गर्न नसकेको सोचनीय अवस्था छ ।

एआरटी जस्ता जीवनदायी उपचार सेवाहरू सरकारी स्वास्थ्य संयन्त्रहरू विकास गरेन भने भोलि दातृ निकायहरू र आर्थिक एंव प्राविधिक सहयोग बन्द भएपनि एआरटीमा बाँचिरहेका हजारौं एचआईभी संक्रमित नेपालीहरूको के अवस्था हुन्छ रु नेपाल सरकारले उच्चतम तह र अन्य जिम्मेवार मन्त्रालय, निकाय तहमा यो गम्भीर रूपमा आत्मसात गरी चरणबद्ध रूपमा आर्थिक, प्राविधिक र कार्यक्रमगत रूपमा स्वामित्व दिनैपर्ने हुन्छ ।

स्थिति, युवामुखि छ त?

विगतका दुई दशक यता एचआइभी नियन्त्रणमा विभिन्न प्रयास तथा कार्यक्रमहरु भई आएता पनि समग्र रुपमा स्थिती सुधार उन्मुख भने पाईदैन । विगतको तुलनामा सुई द्धारा लागु पर्दाथ सेवन गर्नेहरुमा मा एचआइभी संक्रमणको प्रवृतिमा केहि कमि आएतापनि प्रवासी श्रमीक (Migrant worker), व्यवसायिक यौन कार्यकर्ता (दुवै महिला र पुरुष) र तिनका ग्राहक र पुरुष संग यौन सम्पर्क राख्ने पुरुषहरु (MSM)मा एच. आइ. भि. र एड्स संक्रमण दर उच्च नै रहेको पाईको छ –यनिसेफको हालैको तथ्याङ्क अनुसार एचआइभी संक्रमणको दरमा केहि कमि आएता पनि खासै ढुक्क हुने स्थिति भने छैन ।

यसो हुनुमा UNAIDS को अनुमान अनुसार कूल ७०,००० संक्रमित मध्ये अधिकांश (८०% संक्रमित हरुमा आफ्नो अवस्थाको ज्ञान नभएको र २००९ डिसेम्बर सम्ममा करिब १४,३२० संक्रमितहरु मात्र सुचिकृत भएको अवस्था हो । एच. आइ. भि. र एड्स रोकथाम र सेवामा सबैको पहुँच स्थपित गर्न खोजिएता पनि नेपालमा युवा वर्ग (प्रत्यक्ष जोखिम समुह) लाई कार्यक्रमहरुको परिचालकको रुपमा मात्र प्रयोग भएको पाईएको छ । युवाहरुको वाहुल्य भएको राष्ट्र (१५ देखि २९ वर्षका २७ % र १६ देखि ४० वर्षका ३८.८ %,) एड्सको महामारी रोकथाम गर्न युवामा लगानी नगरीएको अवस्था छ ।

संविधान निर्माण कार्य तथा अन्य राजनैतिक अस्थिरताका चुनौतीहरु हुदा हुदै पनि विभिन्न राष्ट्रिय, क्षेत्रिय तथा अन्र्तराष्ट्रिय निति तथा रणनितिहरु द्धारा निर्देशित कार्यक्रमहरु नेपालमा सवल रुपमा अघि बढिरहेका छन् । यद्यपि राजनैतिक दस्तावेजहरुमा प्रत्यक्ष लाभांवित तथा जोखिम युक्त समुहको रुपमा युवा तथा किशोर किशोरीहरुलाई स्थान दिईएतापनि नीति निर्माण तहमा पहँुच स्थापना गर्न सकिएको छैन ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट एच. आइ. भि. सम्बन्धी ज्ञान अभिबृद्धि गर्ने विभिन्न उपायहरु अपनाइएतापनि सुरक्षित व्यवहार सेवा सुविधा,र सुचनामा उचित पहुँच स्थापना हुन सकेको छैन । कुल युवा जनसंख्याको केवल ३१.८% युवा युवतीहरुले मात्र एच. आइ. भि. संक्रमण सम्बन्धि सहि रोकथामका उपायहरु र गलत धारणाको प्रतिवाद गर्न सक्छन् । उच्च जोखिम जनसंख्या (MARP) को रुपमा पहिचान भएका अधिकांश समुह युवा उमेर समुह अन्र्तगत नै पर्ने देखिन्छ ।

यौनिक अल्पसंख्यक देखि किशोर किशोरीहरु उच्च जोखिममा छन् । अझ देशको बढ्दो राजनैतिक अवस्था र खस्किदो अर्थतन्त्र तथा यसका प्रभावले निम्त्याएको बेरोजगारी समस्याले बैदेशिक रोजगारीको लागी युवाहरुमा आकर्षणले प्रवासी श्रमीक हुने प्रवृत्ती उच्च छ । यसले गर्दा प्रवासी श्रमीकहरु उच्च जोखिममा रहेका छन । देशको पहाडी क्षेत्र पहुँच र अन्य भौगोलिक आधारमा दुर्गम रहेकाले पनि सुचना र सेवाका पहुच र परिदर्शन (surveillance) बढाउनु आवश्यक रहेकोछ ।

This article is a part of a paper is presented by author in a program addressing youths' issues and Nepal's collective response efforts to HIV. This is copyrighted article, right of copy reserves to the author.

सन्दर्भ सामाग्री:

 UNGASS Progress Report 2010

 केन्द्रिय तथ्यांक विभाग २००१

 राष्ट्रिय युवा निति २०६६

 UNICEF Nepal Call for Adolescents

 www.ncasc.gov.np

 www.ippf.org