Welcome to my opinions' world.........purely personal...

Home

23 February 2012

शहर चर्चा

अघिल्लो दिन समसुहाउँदो देखेको संरचना भोलिपल्ट भत्किसकेको हुन्छ, दुःख पनि लाग्छ, सँगै सडकहरु बिस्तार हुँदै छन् भनेर अलि सन्तोष पनि लाग्छ । तर जे जसो भए पनि बानेश्वरमा मानिसको भिड सधैँ नै हुन्छ, जस्ताको त्यस्तै । आखिर काठमाडौंको मुटु हो क्यारे (सबै ठाँउलाई यहाँ मुटु नै भन्ने चलन छ, त्यहि पछ्याएको हो मैँले पनि । मान्छेको चाँहि एउटा मुटु हुन्छ, शहरको कत्ति हुन्छ मलाई थाहा भएन) ।


बानेश्वरको ६०१ बैठक भवन अगाडिको पानी ट्याङ्कीको डल्लो थामेको संरचनाको तलपट्टिको दिवाल सँगै रहेको यी दिदीको चिया पसल, रामकसम सबै लोकमा चर्चा छ । सभासद देखि सभामुख सम्म, बैङ्कर देखि हकरसम्म, बिकासे कार्यकर्ता देखि व्यापारी सम्म, सबै यी दिदीको चियाको फ्यान् हुन । म त्यो फ्यान्का् भिडमा नपर्ने त कुरै भएन । चिया पनि त अचाक्ली मिठो छ, चाख्नु भएको छैन, भने चाख्नुस एक पटक, एक कपको १२ रुपैँया मात्रै हो ।
केहि दिन अघिको एक साँझ, एक दिन अगाडि चिया खाएको पसल झ्यापझुप्प प्लाष्टिकले छोपेको देखेर वाल्ल परे । हैन कहाँ गइछन् यी साहुनी दिदी आज भनेर आँखा डुलाउँदा नजिकै भेटि हाले ।

‘‘हैन दिदी आज चिया नखुवाउने ?’’ मँैले सोधिहाले ।
‘‘ खुवाउँन त खुवाउथे तर खोल्नै दिदैनन्, पसल ।’’, दिदीले गुनासो पोखिन ।
‘‘किन र दिदी ?’’ मैँले मन थाम्न सकिन ।
‘‘ आज पनि नगरपालिकाका मान्छे आएका छन्, तीनका बाजेहरुलाई यो हटाउनु पर्यो रे’’, दिदीले एकै श्वासमा आक्रोश पोखिन् । मैँले कुरोको चुरो बुझिहाले ।


बानेश्वरमा छिर्केमिर्के पोसाक लगाएका सशस्त्र प्रहरीहरु देख्नु कुनै ठूलो कुरो भएन, झन् अहिले शहर भत्केको भत्कैछ । अनामनगर तिर जाने सडकको छिर्ने मोडमा माछा पसल र पान पसल भएको घर झ्वाम्म भत्केको थियो, साथै यी दिदीको चियाको पसल छेऊको पिपलको रुख पनि जरै देखि उखेलिएको थियो । तर त्यस कुराले यी दिदीलाई खासै फरक नपार्नु पर्ने, तर नगरपालिकाका कर्मचारीको उपस्थितिले स्थिति प्रतिकूल पारिदिएछ । सडक छेउ गरिएका व्यापारमा उनीहरुको आँखा लागेको रैछ यस पालि ।
मैँले उनको कुरामा विरोध पनि जनाइन, न सहमति नै, तर छेउमै भएको एउटा साथीलाई चाँहि सोध्न भ्याइहाले, ‘‘ ओए केटा, यो सडक छेऊमा व्यापार गर्नु ठिक कि बेठिक ?’’
‘‘ह्या, यी सबलाई हटाउनु पर्छ, पेटीमा हिड्न कम झ्याउँ हुन्छ ’’
‘‘कुरा त ठिकै गरिस् तर त्यो तैँले अस्ति १६० रुपैँयामा किनेको जुत्ता अरु ठाँउ किन्न पाउँथिस्, सिटि सेन्टर वा सिभिल मलमा त त्यो बेच्दैन होला नि ?’’
‘‘त्यो त हो, तर यसले गर्दा सडक दुर्घटना हुने सम्भावना त हुन्छ नि !’’
‘‘न्यू रोडको भित्रि सडकहरुमा, सडक आधा ढाक्ने गरी चिल्ला कारहरु राख्दा चै केहि नहुने, कसैले सडकमा त्यसको साटो व्यापार गर्यो भने चैँ सबैको टाँउको दुख्ने ’’
‘‘त्यो त हो ! ’’
लौ एकजनाले भए पनि मेरो बिचार प्रति सहमति जनायो । हाम्रो कुरा सुनेको पनि नसुनेको झैँ गरेर सँगै एकजना वृद्धा बसिरहेकी थिइन्, टुकरुक्क । शुरुमा त कुरा गर्न त्यति नमाने पनि एक छिनमा ती बृद्धाले कुरा खोलिन । ५८ साल तिर एउटा भएको छोरोको पनि विदेशमा मृत्यु भए पछि, बुहारी र सानो नातिलाई चेपेर काठमाडौं छिरेकी रहेछिन् । गाँउमा भएको अलिकति जग्गा पनि धितो राखेको र बैङ्क धितो सकारे पछि उपाय नभएर बाटो लागेकी रै’छिन्, ती बृद्धा र अलिकति ऋणपान गरेर सासु बुहारी भएर सडक छेऊ सानो तरकारी पसल बिछाएकी रै’छिन । अघिल्लो पटक त जोगिएछ तर यस पटक भने नगरपालिकाको गाडिमा उनको व्यापार, गरी खाने मेलो सकिएछ । अब कसरी भँुडी पाल्ने र अब फेरी शुरु गर्न कता ऋण खोज्ने चिन्ताले उनलाई ढाकेको थियो, अब उपाय के त ?अघिल्लो साँझ मिनभवनको उरालोमा लाग्ने ठाँउमा नगरपालिकाका बडा हाकिमले आफ्नो सानदार कार सडक किनारमा रोकेर फूलको बुके झैँ एक मुठो साग कारको पछिल्लो सिटमा राखेर हुइँकिएको याद आयो । आखिर हुकुम चलाउनेहरुलाई पनि त तरकारी त सडकै चाहिदो रै’छ त ?



सडक व्यापार के आफैँमा शहरको समस्या हो त ? सरकारी ओहोदामा बसेकाहरुको उत्तर हो भन्ने आउँछ, र अधिकांश हाम्रो पनि तर न्यून आय भएकाहरुको एउटा गतिलो गरी खाने साधन हो, सडक व्यापार । सस्तो र ताजा तरकारी खोज्न जसको पनि सहज गन्तव्य हो सडक व्यापार । एसी भएको पसलमा रु १००० पर्ने चाइनिज जुत्ताको रु २५०मा सहज खरीदारी गर्ने स्थल हो सडक व्यापार । आर्थिक हिसाबमा समग्र अर्थतन्त्रलाई कस्तो असर पारेको छ भन्ने कुरा, अहिले खोज नगरौँ तर सामान्य जनजीवनको सहज र शुलभ विकल्प हो सडक व्यापार । हजारौ गरी खाने वर्गको रोजिरोटी हो सडक व्यापार, खै त यो कुरा हाम्रो सर्वहारा वर्गको नेतृत्व गर्ने सरकारले बुझेको ? साँच्चै, सडक व्यापारले शहरको सुन्दरता विग्रिन्छ भने, त्यस्ता व्यापार र व्यापारीहरुलाई उचित जिविकापार्जनको विकल्प दिइनु पर्दछ र हामी जस्ताले फेरी पनि भोलिको दिनमा १६०मा जुत्ता किन्न पाउनु पर्छ, अनि मात्रै केहि गरे ठिक होला, होइनभने गरीब जनताको ढाड मिचेर उभिएको शहरको जग बलियो हुदैन । होशियार !!

05 February 2012

चमत्कारलाई नमस्कार !!


म जन्मेको घर अगाडि मन्दिर छ र मेरो बाल्यकालका अधिकांश समयहरु त्यहि मन्दिरको वरीपरि खेलेर वित्यो । यसो हुँदा मेरो बालमस्तिष्क हिन्दू धर्मका अन्र्तगत मानिएका भग्वान वा भगवतीहरुको चर्चा—परिचर्चाले भरिनु नौलो कुरा भएन । ‘कृष्ण कन्हैया लालकी जय’ जस्ता जयजयकार र समय समयमा भइरहने भजन किर्तनहरु मेरा कानमा कति परे कति । म पनि राम्रै भजन गायक र वाद्यवादकका रुपमा केटाकेटी देखि नै चिनिन्थे । मेरो कलिलो दिमागले म यो किन गरिरहेको छु ? भन्ने विश्लेषण गर्ने भेउ पाउँदैन्थ्यो, तथापि मलाई रमाइलो भने अवश्य हुन्थ्यो, शायद यहि रमाइलो नै मेरो धर्म, भजन किर्तन प्रतिको उत्प्रेरणा थियो होला । उर्धमूलमधसाखः म्स्वाथ्म्प्राहुरव्यम् भन्दै गीताको हरफहरु कण्ठ गरीरहँदा म मेरा अन्य साथीहरु भन्दा छिटो यी हरफहरु कण्ठ गर्न सक्छु भन्ने प्रमाणित गर्नु मेरा लागि उत्कट इच्छा हुन्थ्यो, नकि ती हरफहरुले भन्न खोजेको सार बुझ्न, र मलाई आज पनि यीनको अर्थ थाहाछैन ।
आजसम्म आइपुग्दा मैँले हिन्दू धर्मको थोरैबहुत विश्लेषण गर्ने शक्ति आर्जेको छु । मलाई के थाहा छ भने विश्वमा जति पनि धर्महरु छन् तिनीहरुको एकमात्र, विशुद्ध ध्येय जनकल्याण हो । प्रत्येक धर्मले सत्य र परोपकारलाई अगालेको हुन्छन्, र सोहि अनुरुप कर्मको मार्गनिर्देशन गरेका हुन्छन् । साँच्चै प्रत्येक धर्मको मूल सार भनेकै परोपकार हो, परसेवा नै हो तर ती सबै कुरा सिकाउने वा हाम्रा रोल मोडेल बनेका भगवान चाँहि भगवान कसरी भए ? यहि प्रश्नको उत्तर खोजीरहँदा मैँले गतिलै जवाफ भेट्टाए । यो आख्यानको मूल उद्देश्य पनि त्यहि नै उत्तर उजागर गर्नु हो ।
हामीले मानिआएका केहि भग्वान वा भगवतीहरुको उदाहरण लिऊ । शुरु गरौं कृष्णबाट । कृष्णले, वसुदेव र देवकीका आठौँ पुत्रका रुपमा राजा कंशको जेल भित्र जन्म लिए । कंशले सुनेको भविष्यवाणी अनुसार देवकीको आठौं पुत्रबाट आफ्नो मृत्यु हुन्छ भन्ने भयले देवकीका यसअघिका छ सन्तानहरुले बाँच्न पाएनन् । तर अचम्म, कृष्ण जन्मँदा त जेलका द्वारहरु आफैँ खुले, द्वारपालेहरु एका—एक बेहोश भए, वासुदेवले राता—रात जमुना नदि तारेर कृष्णलाई गोकूल पु¥याए, कत्रो चमत्कार ! त्यसपछि त कृष्णले जे गरे त्यो सबै उनको लीला ठहरियो । अरुका घरमा गएर चोरी गरेपनि, अरुका श्रीमतिहरुलाई मध्य रातमा वनमा बोलाएर नाँच नचाएपनि, जे गरे पनि, जसो गरे पनि, उनका प्रत्येक कार्य÷कर्तुतलाई लीला नै भनियो, चमत्कार भनिएन र तर तीनै लीला भनिने चमत्कारहरुले उनलाई असाधारण बनायो, उनी भग्वान कहलिये । जय कृष्ण शरणम् !!
अब भगवान्को कुरा गरेपछि भगवतीको चर्चा गरिएन भने अन्यथा होला । चर्चा गरौं सिंहको सवारी गर्ने दुर्गा माताको । वर्षैपिच्छे, दश दिन सम्म उनैको पूजा गरेर दशैँ मनाइन्छ, उनको महिमा गाइन्छ, उनैका नाममा बलि चडाइन्छ —सुत्केरीको नाम गरी टाउको मैँले खाँए भने जस्तै भएता पनि— हर्षउल्लास गरी मनाइन्छ तर दुर्गाको वाहन सिंह नभएको भए, कसैले मार्न नसक्ने राक्षसलाई मार्न नसकेको भए उनलाई कस्ले पूज्थ्यो होला ? प्रष्ट भएर भन्नु पर्दा, उनले चमत्कार नगरेको भए उनको भक्ति कस्ले गथ्र्यो होला ? अब दुर्गाको भक्तिलाई के भन्नु उपयुक्त होला, दुर्गा भगवतीको भक्ति वा उनले गरेका चमत्कारको भक्ति ? दुर्गालाई नमस्कार कि चमत्कारलाई नमस्कार ?

हिन्दू धर्मानुसार सत्ययुग वा अन्य दिव्य युगहरुको अन्त्य भएपछि पनि वा भनौँ अहिलेको समयमा पनि चमत्कार वा जादू—टोना, ज्योतिष विद्याको प्रयोग गरेर भगवान कहलिने धङधङ्गी छुटेको छैन् । साइबाबालाई भगवान भनेर पूज्ने भक्तजनको कमी छैन हामीकहाँ किनकी उनी असाधारण थिए रे । जादूगरी गरेर हातबाट विभिन्न समाग्रीहरु उत्पन्न गराउँदथे र थोरै बहूत धार्मिक दर्शन÷प्रवचन दिन्थे र उनी भगवान कहलिए, तर निरपेक्ष भएर सोच्ने हो भने कि त उनी जादूगर थिए कि त दार्शनिक थिए वा जादूगर र दार्शनिक दुवै, नकि भगवान् ।
यहाँसम्म आइपुग्दा तपाइसँग मलाई एउटा प्रश्न गर्न इच्छा जागेर आयो । कतै तपाईले मानेको भगवान पनि उनले गरेका चमत्कार, ज्योतिष विद्या वा दर्शनका कारण त भगवान कहलिएका त होइनन् ? यदि तपाईको उत्तर हो भन्ने आउँछ भने तपाईले पनि मैँले जस्तै वास्तविक भगवानको खोजी गर्नु आवश्यक छ । त्यो वास्तविक भगवानको खोजी आवश्यक छ ।
यसरी सबै भगवान वा भगवतीहरुको अस्तित्वलाई प्रश्न उठाइरहदा एउटा प्रश्न जायज रुपमा उठ्न आउँछ । आखिर सबै भगवान र भगवतीहरु फगत चमत्कारी वा दार्शनिक मात्र हुन भने भगवान कसलाई मान्ने ? आखिर भगवान भनेको को हो त? यो प्रश्नको उत्तर म तपाईलाई नै खोज्न आग्रह गर्छु किनभने तपाईको भगवान् र मेरो भगवानको परिभाषा फरक हुन सक्छ । मेरा भगवानको परिभाषाको कुरा गर्नुहुन्छ भने मेरो सरल जवाफ छ, मेरो भगवान त्यहि होे जसले मलाई, मेरो मनलाई वास्तविक शान्ति दिन्छ । महिना भरी काम गरेर जब महिनाको अन्त्यमा म तलब थाप्छु, त्यो तलब मेरा लागि मेरो भगवान बन्छ । जब दिन भरीको तिर्खा मेटाउन म घरमा आएर एक कप तातो चिया खान्छु, त्यो बनाएर मलाई दिने मेरी माता मेरी भगवती हुन् । म प्रत्येक पलमा आफ्नो भगवानसँग साक्षात्कार गर्छु । मेरो भगवानको परिभाषामा ढोङ्गी बाबाहरु, जादूगर वा चमत्कारी अटाउदैनन् । मेरो गोजी गरम राख्न मलाई मद्दत गर्ने मेरो काम नै मेरो भगवान हो, काम गर्नका लागि मैले सिकेको सीप नै मेरो भगवान हो । मैँले बाड्न सकेको प्रेमले अरुको मुहारमा ल्याउने मुस्कानको सानो छविले दिने सुख नै मेरो भगवान हो । मैले यति दान गरे, उति दान गरे भनेर हात्तिमाथि बसेर बजार परिक्रमा गर्ने काम मेरा लागि मिथ्या लोकप्रियताका लागि गरिने ढोङ्ग मात्र हुन, आपत परेको मान्छेलाई १०० रुपैया सापट दिनु वास्तविक दान हो । सीता हरण गरेको निँहुमा रावणलाई अधर्मी मान्ने तर रुक्मणीहरण गर्दा चाँही कृष्ण भगवानको नाम दिने धर्म मेरो होइन, तर मलाई दया करुणा र परोपकारको सन्देश दिने प्रत्येक कार्य मेरा धर्म हुन र यी यस्तै परिभाषा र अवस्थाहरु नै मेरा भगवान् र धर्म हुन । अब तपाईको भगवान्को खोजी तपाईकै हातमा, तपाईको खोजका लागि तपाईलाई शुभकामना ।