Welcome to my opinions' world.........purely personal...

Home

Showing posts with label Story/Fiction. Show all posts
Showing posts with label Story/Fiction. Show all posts

11 March 2013

राशिफल


‘आऽऽऽऽऽ....’, उसले आङ्ग तान्दै छेवैमा भएको घडी हेर्याे । ‘लौ मार्याे, आठ बजिसकेछ, आज पनि अफिस ढिला हुने भो’, यति सोचेर ऊ जर्याकजुरुक उठ्यो । खाट नजिकै भएको पानीको बोतल हातमा लिएर कूल्ला गर्दै थुक्न पूर्व पट्टीको झ्यालको पर्दा हटायो । झ्याल खोल्यो । मुखमा भएको पानी थुक्यो । अनि सुस्तरी आकाशतिर  हेर्यो । असोज मासको दिन भएर होला बिहानै देखि पारिलो घाम लागेको थियो, तर कतै कतै बादल पनि थिए । एउटा बादलको टुक्रा भने अचम्मकै थियो । उसको नजर त्यही बादलमा एकटकले अडियो । त्यो बादलको टुक्रा साच्चै अचम्मको थियो, बिचमा खाली भएर वरीपरी गोलाकार थियो – चुरा जस्तै । बिचबाट निलो आकाश देखिन्थ्यो, छर्लङ्ग, तर गोलकार भाग अचाक्ली नै कालो थियो । सानो छँदा स्कूलमा नयाँ ‘ब्लाकबोर्ड’मा देख्दा कस्तो कालो रहेछ भनेर जिब्रो टोकेको जस्तै, ‘ब्लाकबोर्ड’को शुद्ध ब्लाक जस्तै ।

एकछिन त्यै बादलको टुक्रामा समय बिताएर पुलुक्क घडीमा हेरेपछि ऊ झल्यास्स भयो, ‘‘ला, ढिला भइसकेछ’’ । हत्तपत्त नित्यकर्म सकेर अफिस पुग्दा दशको फेरो काँटाले नाघिसकेको थियो । कसैसँग नबोली सरासर आफ्नो  क्याबिनमा पुगेर ऊ थ्याच्च थेच्चीयो । ‘सर, कफि लिनुहुन्छ?’, रमेश भाइको आवाज सुनेर उसको ध्यान मोडियो । ‘हँ? ....अहिलेलाई परेन, तिमी जाऊ पछि चाहियो भने म आफैँ  बोलाउछु’, बिहान चिया पनि नखाई अफिस आए पनि उसले नजानीकनै इन्कार गर्यो । कुर्सीमा बसीरहन सकेन । जुरुक्क उठेर क्याबिनको झ्याल तिर लम्कीयो । आज उसलाई कसै सँग कुरा गर्न मन छैन तर अफिस आए पछि नबोलीकन चल्दैन् । यो कुरा उसले मजाले बुझेको छ । सकेसम्म आज ऊ सबैलाई ‘अभोइड’नै गर्ने सुरमा छ, कति बेला ५ बज्छ अनि घर गएर सुतौ भन्ने सुरमा ।

                  

‘‘ला, खाएर आ’को सुरमा, झ्याल त रातभरी खुल्लै भएछ ।’’, अघिल्लो रातको अलिकति बदमासीको नमूना उसको कोठामा अझैँ बाँकी थियो । वास्तवमा, त्यै झ्यालबाट आ’को किरणबाट उसको निद्रा खुलेको हो, नत्र आज फेरी दिनभर फुस हुन के बेर! ‘ओहो, आज पनि घाम माथि पुगिसकेछ’, यति सोचेर ओछ्यानबाट उठ्नमात्र के खोजेको थियो, छेवैमा रहेको फोन् करायो – ढुँढुँ..ढुँढुँ....

 ‘अ भन् सुवाष’ ‘हिजो, तेरो मुड अफ थियो रे, मोबाइल पनि स्वीच अफ थियो, के भा’को थियो?’, एकै सासमा यत्ति धेरै प्रश्न तेर्सियो फोनको अर्को पट्टीबाट ।

 ‘अँ, अलि डिस्टब्र्ड नै थिए, त्यै भएर मोबाइल पनि अफ गरेको, अनि तैँले चैँ कसरी थाहा पाइस नि?’ “तेरो कुरा मलाइ थाहा नभए कसलाई थाह हुन्छ त?”, सुवाष ठालू पल्टियो ।

 “त्यै रचनाले भनि होली, अरु कसको काम हुन सक्छ र? ल तँ मेरो मै आइज, आज अफिस पनि बिदा छ, कतै बाहिर जाउँला”, फोन काट्न तम्तयार हुदैँ उसले भन्यो ।

सुवाष उत्तर पर्खन उसले जरुरी ठानेन् । ओछ्यानबाट उठ्दै उसले त्यै पूर्व पट्टीको झ्यालको पर्दा खोल्दै आकाश तिर नियालो । वास्तवमा उसको नित्यकर्म मध्येकै एक थियो – बिहान एक पटक त्यो झ्यालबाट दुनियाँ वा भनौँ आकाश हेर्ने । आज खासै अनौठौ छैन आकाश, साबिक झै खुला छ । पर एउटा कुनोमा सेतो बादलको पातलो धर्सो छ, ङिच्च हासेको ‘स्माइली’ जस्तै :)  । त्यो देखेर उसको अनुहारमा पनि अर्को ‘स्माइली’ बन्यो । यत्तिकैमा फेरी फोन बज्यो, सुवाषको रहेछ ।
 “कति चाँडो आइपुगेछ, यो मूला पनि”, आकाशको ‘स्माइली’सँग बिदा मागेर ऊ ढोका तिर लम्कियो ।

                  

 बिहानको दश बजे सके पनि आज उसले सुवाषको फोन उठाएन । सुवाषलाई थाहा थियो, राति अबेर सम्म बाहिर बसो भने यो मान्छे बिहान चाडै उठ्दैन । तर खासै रात पनि छिप्पिएको होइन, हिजो रात, ११ बजे उसलाई घरमा छोडेर आ’को । त्यै पनि सुवाषले उसलाई विश्वास गरेन अनि फेरी गर्याे, तर यो पटक पनि उसको फोन उठेन । दुई पटक पनि फोन नउठे पछि सुवाषले मन मार्याे – “आज पनि यो मान्छे अफिस गएन होला ।”

 उसले सुवाषको मात्रै होइन, अफिसबाट आएको फोन पनि उठाएन । ओछ्यानको छैवैमा दिनभर फोन ‘भाइब्रेट’ गरिरह्यो । साझँ पर्नै लाग्दा सुवाषले फेरी फोन गर्याे, यस पल्ट लगातार तीन पटक । तीन पटक पनि फोन नउठेपछि सुवाषले रचनालाई फोन लगायो र रचनाबाट पनि उसको स्थिति पत्तो लगाउन सकेन ।

 “टक..टक...टक”, ढोकाको चुकुल बेसमारी ढोकामा बजार्दा पनि न भित्रबाट आवाज नै आयो, न ढोका नै खुल्यो । अब भने सुवाषको मनमा चिसो पस्यो, अलिक आत्तियो पनि । उसको फ्लाट तलतिर बस्ने दुईजना अरु केटाहरुलाई पनि बोलायो । तीनजना भएर ढोका तोडेर भित्र पसे । ऊ खाटमा मस्त पल्टेको जस्तो देखिन्थ्यो । झ्याल खुल्लै थियो, बिहानै देखि खुलेको वा भर्खरै, थाहा भएन । सुवाष नजिकै गयो । खाट नेर पुग्यो र उसलाई उठाउन खोज्यो । यत्तिकैमा उसको हातबाट एउटा पाना खस्यो, र त्यसमा लेखिएको थियो “आज आकाशमा बादल छैन, आकाश शून्य छ” । सुवाषले आफ्नो हात उसको नाक सम्म पु¥यायो । उसले सास लिन छाडिसकेको थियो ।