Welcome to my opinions' world.........purely personal...

Home

Showing posts with label Hot Cake. Show all posts
Showing posts with label Hot Cake. Show all posts

18 May 2012

र यस्तो पनि: पृथक शैलीमा पुरानै अभियान

देश संघियता केन्द्रित आन्दोलनले तातिरहँदा राजधानीका केहि युवाहरु भने भिन्न पक्षका लागि यतिबेला सडक तताइरहेका छन् । विशेषगरी विभिन्न पक्षहरु जातियता र पहिचान सहितको राज्य संरचनाका लागि नेपाल बन्द, चक्काजाम, हड्ताल वा अनसन जस्ता कार्य गरिरहदा, यी युवाहरु भने पृथक शैलीका साथ सडकमा होमिएका छन् । विगतमा जस्तै प्रत्येक उपलब्धिको साक्षी युवा हुने क्रमसँगै यसपाला पनि यी युवाहरु युगीन उपलब्धिको साक्षी हुन भेला हुन्छन र आफ्नो फरक शैलीमा जेठ १४मा जारी हुन लागेको देशको पहिलो संघिय गणतान्त्रिक संविधानलाई स्वागत गर्न तातिएका छन् । ‘नयाँ संविधानलाई स्वागत गरौं’ भन्ने अभियानका साथ नयाँ बानेश्वर चोक संविधान सभा भवन अगाडि दैनिक एक घण्टा, ५ः३० देखि ६ः३० सम्म, मौलिक तथा नविन शैलीको प्रयोेग गरी नयाँ संविधानको जारी गर्नका लागि सकारात्मक दवाब दिन्छन् ।

यी युवाहरुको नयाँ संविधानलाई स्वागत गर्ने वा भनौं आगामी जेठ १४मा संविधान जारी गर्न सभासद तथा राजनैतिक नेताहरुलाई नैतिक दवाब दिने शैली वास्तवमै भिन्न छ । कहिले ‘‘हे युवा, जय युवा’’ भनेर आपसमा हात समातेर नारा लगाउदै त कहिले नयाँ संविधानलाई स्वागत गर्न सडक किनारमा अविरले नेपालको नक्सा कोरेर त्यसमाथि ममबत्ति बाल्दै यी युवाहरु नयाँ संविधानलाई स्वागत गर्न कसिएका छन् । "हे भन भन साथी हो.....संविधान राम्ररी भन...... हाहै जेठ १४मा...... आउनै लाग्यो.... हाहै पोहोर पनि पाईएन......... हाहै परार पनि पाईएन... हाहै यसपाली त... आउनै पर्छ..." भन्दै देउसी गाँउदै गर्दा भेटिएका एक अभियन्ता रत्नेश शशी, वर्ष २५, भन्छन् ‘‘सधैँ बन्द, हड्ताल, चक्काजाम जस्ता विरोध र आन्दोलनका नाममा जनतालाई दुःख दिने शैलीलाई निरुत्साहित गर्दै यसरी पनि कुनै कार्यका लागि दबाव दिन सकिन्छ भनेर देखाउनु पनि यस अभियानको एक प्रमुख उद्देश्य हो ।’’ त्यसो त आफ्ना सकारात्मक दवाबका कार्यक्रमबाट अरु कसैलाई हानी वा व्यबधान नपुगोस भन्ने कुरामा पनि यी युवाहरु उत्तिकै सजग छन् । सडक किनारमा ब्यानर समाएर उभिएका अर्का अभियन्ता पुकार बम, वर्ष २४, थप्छन्, ‘‘युवा आन्दोलनमा भन्ने वित्तिकै सधैं तोडफोड, ढुङ्गा मूढा, टायर बाल्ने, हिंसा मात्रै हुन्छ भन्ने सोचलाई पनि यस प्रकारको दबावका कार्यक्रमले कसैलाई बाधा नुपुर्याइ आफ्ना कुरा राख्न सकिन्छ भन्ने सन्देश जाओस भन्ने पनि हाम्रो उद्देश्य हो ।’’ त्यसो त यी कार्यक्रमबाट कसैलाई पनि बाधा परेको देखिदैन् । अझ यी युवाहरुले सडकमा तरकारी व्यापार गर्ने व्यापारीहरुबाट दैनिक तरकारी किनेर सहयोग गर्ने गरेको पनि देख्न पाइन्छ ।

यस अभियानमा लागेका युवाहरु एकै प्रकारको नयाँ संविधानलाई स्वागत गरौ लेखिएको सेतो टी-सर्टमा सजिएको देखिन्छन् । तर यी टी-सर्टहरु भने कुनै दातृ निकाय वा अन्र्तराष्ट्रिय संघ-संस्थाबाट प्रयोजित भने होइनन् । एक प्रतिको रु. २५० पर्ने यस टी-सर्टको लागत मूल्य रु. १५० हो र बाँकी रकम मध्ये रु. ७५ गत बैशाख १६ गते सिराहाको शिवनगर र तेनुवापट्टी गा.वि.स.मा भएको आगलागीका अग्निपिडितको नाममा संकलन गरिन्छ र रु.२५बाट भने अभियानका क्रममा हुने खर्चका लागि छुट्ट्याइन्छ । अहिले सम्म रु. ३,२२५ टी-सर्टको बिक्रि मार्फत संकलन भइसकेको छ र यो क्रम जारी छ । यी टी-सर्टहरुको अर्को विशेषता भनेको यी सबै टी-सर्टहरु ‘मेड इन नेपाल’ हुन् ।

देशभरी जातियताको विषयमा चर्काचर्की भइरहँदा यी युवाहरुमा भने जातिय सद्भाव भएको सहजै अनुमान लगाउन सकिन्छ । देशभरीका विभिन्न भूगोलबाट अध्ययन वा रोजगारीका लागि काठमाडौं पसेका र स्थानिय युवाहरु पनि साथ पाएको यो युवा टोलीमा जातियता वा धार्मिक विषयलाई लिएर कुनै मतभेद छैन् । अधिकांश युवाहरु सामथ्र्यका आधारमा संघियता हुनुपर्नेमा एकमत छन् । विभिन्न जात जाती, भौगोलिक प्रदेश तथा पहिचानको संघर्ष भइरहेका बेला उनीहरुलाई यस विषयले नछोएको होइन, तर सबै युवाहरु मात्र आफ्नो पहिचानको नाममा देशलाई टुक्राउनु नहुनेमा जोड दिन्छन् ।

आगामी जेठ १४मा देशमा संविधान जारी नभएमा देशमा संकट आउने र जसरी भए पनि तोकिएको समयाविधि भित्रै संविधान जारी हुनु पर्नेमा दबाव दिन सडकमा उत्रेका यी युवाहरुलाई तोकिएको समयाविधि भित्र संविधान जारी नहुने पो हो कि भन्ने पनि उत्तिकै पिरोलो छ । तर त्यसतो दुःस्वप्नलाई सकेसम्म पन्छाउन आफू भित्रको उट्कुण्ठालाई शालिनरुपमा प्रर्दशन गर्नु नै यो अभियानको लक्ष्य हो । यो अभियानको सफलता जारीको हुन लागेको नयाँ संविधान र नयाँ नेपालको भविष्यसँग जोडिएको छ तसर्थ यो अभियानमा लागेका सबै युवाहरुलाई बन्न लागेको नयाँ संविधान र अभियानको सफलताको शुभकामना !!





फोटो साभार: https://www.facebook.com/groups/232801050154637/