Welcome to my opinions' world.........purely personal...

Home

06 December 2011

हजुरआमा मैँले जे देखेँ-३; हरे राजनीति !!


हजुरआमा, बिहान हतार हतार उठेर कलेज गएर एउटा क्लासपनि राम्ररी लिन भ्याएको हुदैन, साथीहरुको पछि पछि लागेर खाल्डोको चिया पसल गएर चियाको चुस्की लिन गइहालिन्छ । अब पसलमा चिया कुर्ने अनि चुस्की हाल्ने क्रममा गफ गाफ त हुने नै भयो । पसलमा उपलब्धहुने पत्रिकामा आँखा गई नै हाल्छ । पत्रिका पढ्ने क्रममा हेडलाइनबाटै शुरु गर्ने गरिन्छ, स्वभाविक नै हो । अब नेपालका अधिकांश पत्रिकका हेडलाइन त राजनैतिक नै हुन्छन, एउटा आधा पढ्न राम्ररी भ्याएको हुदैन अर्कोको टुटेफूटेको विश्लेषण शुरु हुन्छ ।

''यी नेताहरुले कहिल्यै पनि देशलाई उभो लगाउने भएनन् । हिजो देश र जनताका लागि त्यत्रो संर्घष गरेर आएकाको त यो ताल छ, अरु बसि खाइ गरेर राजनीति गर्नेका त के कुरा गर्नु ?'' एकबिहानै नेताहरुलाई गाली गरेर विश्लेषण शुरु हुन्छ । ''हो त हेर्न, जहिले नि कुर्सी भनेका छन्, सत्ता भनेका छन्, जनताको दुखः, पीर यीनिहरुलाई कहिल्यै मतलब हुने भएन,'' अर्कोले थप्छ । यसै बिचमा अर्काले अलिकति बुझेको जस्तो गरेर सकारात्मक काम पनि भइरहेको र संक्रमणकालमा यस्तै हुने ब्योहराको जानकारी राख्दछ । लौ हुटिट्याउले सगर थामेको मैँले देखेँको छैन, सबैका कुरालाई सम्मान गरे जस्तो गर्दै क्लास लैजाने पहल म नै गर्छु । तपाई नाति भएको सार्थकता पनि त जनाउनु पर्यो नि हैन, हजुरआमा?

हजुरआमा, अब क्लास लागि भनेर त आइयो, तर सबै विद्यार्थी त बाहिरै छन् भन्ने खबर आइपुग्न बेर लाग्दैन । कारण त सधैँ जस्तै त होला नि, कुन विद्यार्थी नेतालाई के चित्त बुझेन जस्तो छ आज पनि । लौ यस्तै हुन्छन् नेपालका कलेज भनेर झोला बोकेर कोठा आइपुग्दा सम्म बाटोमा, गाडिमा अनि कोठा पुग्ने गल्लीमा भेटिएका मानिसहरुको राजनैतिक विश्लेषणले कान अछुतो रहन सक्दैन । कोठामा आइपुग्दा परै सम्म प्रष्टै सुनिने रेडियोमा घन्कीरहेको हुन्छ, ''डा. भट्टराईको अमेरिका भ्रमण फलदायक, आज स्वदेश फर्किने'' । त्यति नै बेला, मेरा सम्झनामा आफ्नै साथीहरुको सर्कलमा अलिकति फरक बिचार प्रकट गर्नेलाई उग्रवामपन्थी, प्रतिगामी र वैद्य पक्षधर भनेर ब्यङ्ग गरेको कुरा पनि आइपुग्छ । हरे राजनीति !!

हतार हतार अफिसका लागि हिडेपनि सवारी सधान देखि बसस्टाण्डसम्म राजनीतिकै कुरा हाबि हुन्छन्, प्रत्येक छलफलमा । आ-आफ्ना विश्लेषण र आ-आफ्नै तर्क । सबैको तर्कमा उस्तै जोश, जुन आफैँमा धेरै शक्तिशाली छन्, लबजबाटै सहज अनुमान लगाउन सकिन्छ । यो पंक्तिकारले मसिनो मुस्कान सहित खुशि व्यक्त गर्छ, हाम्रा देशका प्रत्येक जनता देशका लागि कत्ति चिन्तीत छन्, यी तीनै जनता हुन, यी तिनै विद्यार्थी हुन जसले २४० वर्ष पुरानो शासन संरचनाको जरो उखालेर फ्याँके । हो यी तिनै जनता हुन जो राजनैतिक कुराका चेतना अधिक राख्दछन् । देशमा शासन गर्नेहरुले तलमाथि गरेमा जस्तो पनि परिणाम भोग्न सक्छन् वा यी जनताको धैर्यको सिमा नाघेमा कोहि बाँकि रहने छैनन् । २००७ देखि अहिलेसम्मका प्रत्येक क्रान्तिका साक्षी बनेका यी जनताले आफूलाई सुहाउँदो शासन ल्याउन, बिकासका चाहना पूरा गर्न जस्तो सुकै क्रान्ति गर्न पनि तयार हुनेछन् । साँच्चै खुशिको कुरा हो ।

अफिस आइपुग्दासम्म मेरो मुस्कानले मेरो साथ छोडिसकेको हुन्छ । मेरो मनले ६२/६३को आन्दोलन ताका राष्ट्रिय झन्डा भन्दा राजनैतिक झन्डाको संख्या धेरै भएका कुरा सम्झन पुग्छ । हामी राष्ट्रको हित बिचार गरेर आन्दोलनमा होमिएको थियौ कि हाम्रो पार्टीको स्वार्थका लागी अघि बढेका थियौ भनेर प्रश्न गर्छ । अघि सम्म खुशि भएको मेरो नाती किन एक्कासी दुःखी भयो भनेर तपाईले अनुमान लगाइसक्नु भयो होला हैन ?, हजुरआमा । हो तपाईको अनुमान सहि हो, यो राजनैतिक विश्लेषणको बिचमा, हो हल्लाको बिचमा खै त आर्थिक कुराका टिप्पणी । आफ्ना विगतका राजनैतिक सफलताको बडाई चढाई गर्दा फुरुङ्ग पर्ने हाम्रो मन किन देशको ब्यापार स्थिति नाजुक हुदाँ अलिकति पनि खुम्चन मान्दैन । बिहार जस्तो राज्यले पनि दोहोरो अङ्कको आर्थिक बृद्धिदर हासिल गर्दा प्रत्येक बजेट भाषणमा प्रक्षेपण गरिएको बृद्धिदरको छेउछाउ पनि कहिल्यै नपुग्दा किन रत्तिभर पीर मान्दैन हाम्रो मन ? किन नेप्से परिसूचकको समाचार बज्दा रेडियोको च्यानल परिवर्तन गर्न उदृत रहन्छौ हामी ? दस वर्षे तथाकथित जनयुद्धको प्रत्येक कुरालाई सम्बोधन गरिन खोज्दै गर्दा किन भत्केका संरचनाको पुनः निर्माण पनि हुने खबर हामी सुन्न पाउदैनौ ? राजनीतिको कुरा सधैँ गरिरहँदा, अर्थ-राजनैतिक कुरा गर्न हामी किन पछि परिरहेका छौ ?

हजुरआमा, म स्कूले विद्यार्थी हुँदा मेरा एकजना शिक्षकले भनेको कुरा अझै पनि झल्झलि सम्झन्छु, ''दुनियाँले जुनमा पुगे पनि, हामी नेपालीहरु सधैँ नूनमा झुन्डिरहने छौ''। वास्तवमा एक अर्थमा यो कुराको सार्थकता अहिले पनि उत्तिकै छ । सँगैका राष्ट्रहरुले आर्थिक उन्नतिको शिखरमा पुग्दा पनि हामी अझै पनि खच्चरलाई नून बोकाएर डाँडा पारी पुर्याउन नै अभयस्त छौ । त्यसैले अरुले बुझुन नबुझुन हजुरआमा, मैँले भने बुझको छु, यदि राष्ट्रको सहि अर्थमा आर्थिक बिकासको चाहाना राख्ने हो भने, आर्थिक मुद्दाको बहस हुनु पनि उत्तिकै जरुरी हुन्छ । प्रत्येक नागरिकको बुझाइमा आर्थिक मुद्दा पनि राजनैतिक मुद्दा जत्तिकै सहज रुपमा लबजमा उपलब्ध हुनु पर्छ । नत्र सधैँ यस्तै राजनैतिक बहस मात्रै हुने हो भने आर्थिक उन्नति आकाशको फल आँखाँ तरी मर भने जस्तै मात्रै हुनेछ, र प्रत्येक दिन खस्रो राजनैति मन्त्र मात्रै जप्ने हैसियतमा हामी हुने छौ- प्रत्येक नेपालीले सधैँ बिहान घण्टी बजाउँदै भन्ने छौ, हरे राजनीति हरे राजनीति !!

No comments:

Post a Comment