
''खै त हजुरआमा?'' मैँले कुरा कोट्टयाए, ''मेरो गुनासो सुनेर पनि तँपाईको अर्ति आएन नि?''
रिसाएझैँ गरेर मेरो मुखमा हेरेर भन्नुभयो, ''मैँले भन्न नखोजेको हो र, तँ नै कहिले कता, कहिले कता, सुन्ने फुर्सद कहाँ छ र तँलाई?''
हुन पनि हो मेरै टुङ्गो नभएर नै हो, ठुलै कुराको गुनासो गरेपनि हजुरआमाका समाधानका उपाय सुन्न नपाइएको । खैर, अब मनस्थिति नै बनिसकेपछि किन ढिला गर्ने, अलिकति फ्लास्ब्याक गराउनु पर्यो भन्ने सोँचे ।
''हजुरआमा त्यहि क्या त विद्यार्थी छुट त भन्छन् तर पूरा छुट दिदैनन् नि, के गर्नु अब?'', ''मैँले अस्ति गुनासो गरेको थिए नि ।'' मेरा कुरा सकिन नपाउदैँ हजुरआमाले जिवन्त मुस्कानका साथ टाउको हल्लाउनु भयो र भन्नुभयो, ‘‘बाबु यस बिषयको समाधान गर्न गरे त कसो नहोला!!''
हो त है, गरे त कसो नहोला? तर मेरो बबुरो दिमागले के गर्ने पत्तो लगाउन सकेन । मेरो मनोविज्ञान बुझेर हजुरआमाले विगत कोट्टयाउनु भयो, ''हेर बाबु, हाम्रो देशमा कानून र नियमको पालना कमै हुन्छ, यसको मुख्य कारण भनेको चैँ हामी नै हौ, तथापि पटक्कै नहुने चै होइन । हामी सबैलाई थाहा नै भएको कुरा हो, ट्याक्सीमिटर काण्ड ।''
मैँले थाहा भएको प्रमाणित गर्न टाउको हल्लाए । सम्झनामा पनि आइहाल्यो, प्रहरीले त फर्जी मिटर बनाएर यात्रु ठग्ने नियत भएका ट्याक्सी चालकहरुको त बातो बसाएकै हो । मेरो मनले पनि त्यति बेला नेपाल प्रहरी र जिम्मेवार निकायको राम्रै तारिफ गरेको थियो । तर यो कुराको तालमेल मेरो कुरा सँग खासै पहिल्याउन सकिन, हजुरआमाकै मुख तिर लाट्टिए ।
“सुन बाबै”,हजुरआमाले कुरा अघि बढाउनु भयो, “जसरी प्रहरीहरु र अरु जिम्मेबार निकायको सक्रियतामा मिटरमा चल्ने ट्याक्सीहरुको अनियमितता अगाडि आयो वा त्यसपछि साधारण जनताले राहत महशुस गरे, त्यसैगरी यो कुरालाई पनि साधारण अनुगमनले समाधान गर्न सकिन्छ । हामी सबैको सोचाइ रहन्छ, जाबो एक–दुई रुपैँयाको लागि कस्ले कुरा गर्ने तर सबैको एक–दुई रुपैँयाले समष्टिगत रुपमा ठुलै महत्व राख्दछ । आफैँ सोचे पनि त भयो, एक रुपैया नभई सय रुपैँया हुदैन, उनान्सय मात्रै हुन्छ, वा भनौँ विद्यार्थीहरुलाई वा अन्य त्यसतै वर्गले पनि एक रुपैँयाको महत्व बुझकै हुन्छ । अब कुरा आउँला, अनुगमन कसरी गर्ने ? यसका लागि पनि त विशेष सरकारी तामझाम त पक्कै होला, त्यस माथि यो त नेपाल !! तर कुरा र काम जति सजिलैसँग सल्टाउन खोजो, त्यो त्यति नै सजिलो हुन्छ, मात्र नियत ठिक चाहिन्छ ।”
यहाँ निर आइपुग्दा मलाई थामिनसक्नु भयो, हजुरआमाले त सजिलै, अनुगमन गरे समस्या समाधान हुन्छ भनेपनि त्यसतो हुनेमा शङ्का लाग्यो । बिचैमा रोकेर जान्ने भई टोपले, “त्यति सजिलो कहाँ छ त अनुगमन, हजुरआमा?”
“यहि त छ हाम्रो सोचाई, कुनै पनि कुरालाई तानबुन गर्न हामी बडो सिपालु छौ”, हजुरआमाको अनुहारमा धैर्यता प्रस्टै देखिन्थ्यो,“ आफ्नो जिवनको भोगाईलाई समस्यासँग जोडेर हेर्ने हो भने गाह्रो छैन, जस्तै नियम विपरित भाडा उठाइएको कुरा थाहा छदैँछ, यसैमा कुनै एक प्रहरीले मात्रै एक दिन सादा पोसाकमा सार्वजनिक सवारी साधनमा यात्रा गरेर नियम विपरित भाडा उठाएको पाएमा वा तोकिएको छुट नदिएको पाएमा दोषिउपर साधारण कारबाहि गर्ने हो भने अनि अरु दुई–चारजनाले साथ दिने हो भने नेपाल न हो, खबर फैलिएर भोलिपल्टदेखि सब टुङ्गो लाग्छन् ।”
कुरा त ठिकै हो तर को तयार हुने र शुरुमा ? कसलाई फुर्सद छ र हामी विद्यार्थीको कुरा बुझ्नलाई ?
“हेर बाबै, सबैका घरमा विद्यार्थी हुन्छन् र जस्ता भए पनि विद्यार्थी समस्या एउटै हो र एउटा मात्रै प्रहरी अभिवावकले कुरा बुझेर शुरुवात गर्ने हो भने त अरुले पनि साथ दिइ नै हाल्छन नि, अनि त साहस गरे सफल कसो नहोइएला, गरे त कसो नहोला?”
“हो हजुरआमा, तँपाईले भनेको कुरा सोहै्रआना सहि हो । गरे त कसो नहोला ।”
हजुरआमाको साधारण तर गहकिलो उपाय ठिक लागेर म झोला बोकेर निस्किहाले, राजिवलाई भेट्न्, त्यसका बा त नेपाल प्रहरीका सहि हुन नि त !!
तस्बिर सौजन्य: www.binodgautam.blogspot.com
No comments:
Post a Comment