Welcome to my opinions' world.........purely personal...

Home

Showing posts with label Satire. Show all posts
Showing posts with label Satire. Show all posts

12 April 2012

२०६८ को छोटो क्रियाकरम

हामीले समाउन खोज्दा पनि २०६८ चिप्लिनै आटेको छ । हामी सबैले यो साल समाउन खोजेकै हो, के अर्थमा भन्नुहुन्छ भने देशको राजनैतिक अवस्थालाई लिएर । जेठ १४ को विकल्प छैन र त्यो दिन प्रत्यके २४ घण्टाको अन्त्य सँगै वेतोड सँग अघि आउदैछ । हाम्रा नेताज्यूहरुको वार्ता भने ज्युका त्यू । अनि ६८ साललाई समात्न नखोजेर के गर्नु ? उनीहरुको हातमा हुन्थ्यो भने त झन् चैत र बैशाख बिचमा पनि अर्को महिना थप्थे होला, बरै के गर्नु समयले बिचरा भन्दो रहेन छ, खैर मै भनिदिन्छु, बिचरा !! अब, आलटालमै बितेको ६८ लाई हत्तेरीका भन्दै जेठ १४ सम्ममा संविधान जारी गर्न कमर, टोपी के के कस्न सकिन्छ कसी हाल्ने हो कि ?


अब कुरा गरौ आर्थिक हिसाबको । ६८ साललाई ‘लक्की’ नै मान्नुपर्छ । वर्षौको परम्परा तोड्दै समयमा नै बजेट आयो तर त्यो पनि हात्ती आयो हात्ती आयो फुस्स भने जस्तो मात्रै भयो । आर्थिक वर्षको ९ महिना सकिदासम्म पनि पूजीगत खर्च खासै गर्न नसेको कुरा अर्थ मन्त्रालयले लाजै पचाएर अस्ति भर्खर भन्यो । अब यस्तो स्थितिमा आर्थिक वृद्धिदरका कुरा बिहारलाई नै छाडिदिए जाति होला, किन बेकारमा विश्लेषण गरेर नदुखेको टाउको दुखाउनु । अनि इन्धन्, भाडा र बजार भाउ सँग सँगै बडेको घरवेटीको भाउले बाँच्न हम्मे हम्मे नै पारी सक्यो, त्यै पनि कोइ चूँ नगरेको देख्दा कहिलेकाही आफैँ चूँ गर्छु, कसैले सुनेको भए त मारीदिनु !




६८ सालको चर्चा गरीरहँदा नेपाली चलचित्र (हुन नसकेको) उद्योगको कुरा नगर्दा अलि सौताको ब्यवहार गरे जस्तो होला । नेपाली चलचित्र (हुन नसकेको) उद्योगमा संकटकालको घोषणाको कुरा हुनै लाग्दा बजारमा ‘लुट’ चोलि उदारेर इज्जत बचायो । धन्य, तिमीले चोलि उदारेछौ भन्नेहरु कति निस्किए कति ! अब अरु चलचित्र त नेपाली नै होइनन् बस् ९० देखि ९५ सम्म बनेका विदेशी चलचित्रका छाँयाप्रति हुन, नपत्याए पोस्टर हेरेर पनि अलि अलि छनक पाउन सकिन्छ । अब, लुट जस्ता मौलिक चलचित्र बनायो भने कमाउन सकिन्छ, फ्लिम बनाउन पैसा, बल भन्दा पनि दिमाग चाहिन्छ पासा दिमाग,

भन्ने सबै निर्माता–निर्देशकलाई चेतना भया !


प्र–हरीका ठूल्ठूला सा’बहरुलाई सदर खोर पु¥याउँदा खाँटी–खाँटी राष्ट्रसेवक र जनताप्रमीले स्वागत गर्दा सुडान प्रकरणको रक्सीको ढ्याउ पचाउन अलि सजिलो भयो होला । यस हिसाबमा, अख्तिार र अदालतले हामी पनि काम गर्न सक्छौ है भनेर दिएको सङ्केत राम्रै लाग्यो । यसले नेताहरुलाई अलि अत्याएको पक्कै छ नत्र पहिले नै स्वतन्त्र न्यायपालिकामा सहमति बनि सक्थ्यो । साथसाथै, जेठ १४ लाई सबैले अन्तिम म्याद मान्नै पर्छ भनेर गरेको निर्यण पनि स्वागत योग्य हो, म कुनै पार्टीको कार्यकता होइन, त्यै भएर पनि खुलेरै स्वागत गर्छु ।

राष्ट्रिय खेलकुदको सफल आयोजन गर्यौ भनेर मख्ख परिरहेका सुदुर पश्चिमका जनतालाई बन्दोबस्ती र लगानीका हिसाबमा राज्यले ढुङ्ग्राले हानेकोमा भने अमिलो पक्कै भएको छ । खेलाडीहरुले पनि नाक खुम्च्याउनु खुम्च्याए, खुसी फर्केका मान्छे भनेको युवराज लामा मात्रै होलान, सबै भन्दा बडि मेजमानी खाएर, अरुको त कन्त विजोग । तर ए.एफ.सीको सफल आयोजन भने रामै्र कुरा हो, हामीले बेहोरेको हार बिर्सन हो भने । तर कसरी पो बिर्सनु, हामी यसपाला पनि सधैँ जस्तो गोल ठोक्नमै चुक्यौ । गोली मात्रै ठोक्न जान्ने गोर्खेको जात, गोल के ठोक्थ्यो भनेर खीसी गर्नेको मुखमा ताला लगाउन नसकेकोमा चैँ अलि मन पोलेको छ । त्यसो त क्रिकेटमा त नेपालले कमाल गरेकै हो नि । सबै भन्दा पुछारमा रहेका हामी सातौ भएर आयौँ त्यो पनि केन्या जस्तो देशलाई हराएर । अर्को टी–ट्वान्टी वल्र्डकपमा हामी पक्कै पुग्छौं ।


समग्रमा अब मेरा कुरा गर्दा चैँ, ६८ साल पनि लगभग अर्काको पैसामा घुमेरै बिताइयो, यसपाला ६९मा पनि त्यो क्रम वैशाखै देखि शुरु हुदैछ, आशा छ यो वर्ष चैँ नेपाल घुमेर सक्छु होला, सकिन भने तपाईलाई खबर गर्छु, सहयोग गर्नुहोला । हवस् त, अब अर्को सालमा भेटौँला, तपाईको राजनैतिक त भन्दिन, व्यक्तिगत र पेशागत जिवनमा सोचे जस्तो राम्रो, राम्री होस्, हाम्रो देशले नि संविधान पाओस्, काठमाडौंले फ्लाईओभर र मेलम्ची पाओस्, सबैको भलो होस । जदौ ।