Welcome to my opinions' world.........purely personal...

Home

Showing posts with label Real life. Show all posts
Showing posts with label Real life. Show all posts

06 May 2012

ढुकुटी महिमा: कसले, किन गाइरहेछन्?

अस्ति एउटा साथीसँगको कुराकानीमा नेपालको अर्थतन्त्रको अर्को पाटोको बारेमा अवगत भयो । त्यो के थियो भने उसले काम गर्ने व्यापारिक भवनमा भाडामा फ्लाट लिएका व्यापारिक संस्थाहरुले धमाधम फ्लाट छाड्ने क्रममा छन् रे । त्यस्तो किन? कारण खोतल्दै जाँदा कारण पत्ता लाग्यो, मानिसहरु सँग पैसा छैन, त्यसैले व्यापार छैन । मेरो तर्क थियो रेमिटेन्स् बढेको बढै छ, आर्थिक अवस्था पनि अघिल्लो वर्षहरु भन्दा राम्रै छ अनि कसरी पैसा छैन भन्नु?
तर वास्तवमै मानिसहरु सँग पैसा रहेनछ । कहाँ गयो त पैसा? यसको खोज गर्नु भन्दा अगाडि केहि तलका दृष्टान्तहरुमा एक नजर हालौ ।
विमलदाईको पसल आजकल त्यति खुल्दैन । राम्रै चलेको थियो उनको हार्डवेयर पसल, मासिक करिब ५०-६० लाखको व्यापार हुन्थ्यो होला, तर पसल नै नखुले पछि व्यापार त हुने भएन नै । किन बन्द हुन थालेछ त त्यति राम्रो सँग चलेको पसल?
प्रभा दिदीको ब्यूटिपार्लर त बडा भरीमै फेमस । साथै सँगै जोडिएको कस्मेटिक पसलले पनि रामै्र व्यापार गर्दथ्यो तर एकाएक दिदीको पसल बन्द हुन थाल्यो । अहिले सुनिन्छ दिदी त्यति राम्ररी चलेको पसल घाटा खाएर बेच्न खोज्दैछिन रे ।

माथिका उदाहरणहरु त प्रतिनिधि घटना मात्रै हुन । काठमाडौंमा यस्ता घटनाहरु कति भेटिन्छन् कति? आखिर के हो त यस्को कारण? मानिसहरुले चल्दै गरेको व्यापार व्यवसायबाट किन विमुख भइरहेका छन् त? यो सबैको एउटै कारण हो- ढुकुटी ।


के हो त ढुकुटी?

ढुकुटी एक प्रकारको खेल हो । यसमा केहि निश्चित विश्वासिला मानिसहरु जम्मा भएर बराबर रकम उठाउने गरिन्छ । उदाहरणका लागि २० जनाले १० लाखको ढुकुटी खेल्ने हो भने प्रत्येक सहभागीले बराबर अर्थात ५० हजार जम्मा गर्नु पर्ने हुन्छ र पहिलो किस्ताको रकम खेल आयोजना गर्नेको हुन्छ । दास्रो किस्ता देखि पनि सबैले बराबर किस्ताको रकम उठाउनु पर्छ तर जम्मा भएको रकममा जुन सहभागीको कम दाबी हुन्छ, रकम उसैको पोल्टोमा पर्छ । उदाहरणका लागि यदि कुनै सहभागीले जम्मा उठेको रकम (यहाँ १० लाख) मा रु ५ लाखमात्रै खाने दाबी गरेमा र सो दाबी अन्य सहभागीहरुको भन्दा न्यून भएमा सो दाबीकर्ताको भागमा उक्त रकम पर्न जान्छ । यसरी रकम दाबी गर्ने व्यवस्था व्यक्तिगत रुपमा कागजको टुक्रा (चिट)मा गोप्य रुपमा लेखेर गरिन्छ र सबै सहभागीले आ(आफ्नो दाबी रकम लेखे पछि सबै सहभागीहरुको चिट संकलन गरेर सबैको सामु खोलिन्छ । यसलाई ढुकुटी खोलेको भनिन्छ । यसरी कम रकम दाबीककर्ताबाट उभरिएको रकम सम्पूर्ण सहभागीमा बराबर बाडिन्छ । यसरी आफूले तिरको कूल रकम भन्दा आफूले दाबी गरेको रकम बढि भएमा फाइदा हुन्छ ।

यसका साथै रकम खानेले कूल ढुकुटी रकमको २ देखि १० प्रतिशतसम्म आयोजक मार्फत ढुकुटी आयोजना गर्दा खर्चनु पर्ने हुन्छ । उक्त रकम ख्वाइ-प्याइ तथा यातायातमा खर्च गरिन्छ । यसरी प्रत्येक किस्ता कति समयको अन्तरालमा खोलिने हो त्यहि अनुसार माथि उल्लेखित प्रक्रिया दोहो¥इन्छ ।


ढुकुटी खेल्न प्रायस् महिला तथा गृहणीहरु सक्रिय रहेको पाइन्छ तर पुरुषहरुको संलग्नता पनि कम भने चै होइन । यस खेलमा ठूल्ठूला घराना देखि उच्च ओहोदाका कर्मचारीका गृहणीहरु पनि संलग्न रहेको पाइन्छ । आर्थिक हैसियत हेरी १ लाख देखि करोडौंको खेल यसमा खेल्ने गरिन्छ ।

प्रायस् विश्वासिला मानिसहरु मात्रै जम्मा भएर खेलिने यो खेलमा सबै विश्वासिला निस्कदैनन् । साथसाथै, एक व्यक्तिले एक भन्दा बढि समूहमा आवद्ध रहि खेलेको पाइन्छ । यसरी एक भन्दा बढि समूहको आवद्धताले कसैकसैको हकमा महिनामा २० देखि ५० वटा खेलमासम्म उपस्थित रहेको पाइन्छ । अब, अत्याधिक आबद्धता सँगसगै बढि रकमको खेलमा एक व्यक्तिले मात्रैपनि विश्वास तोडेमा ठूलो रकमको ठगी हुन पुग्छ । ढुकुटी खेल्नु÷खेलाउनु आफैँमा गैरकानूनी भएकाले उक्त किसीमका ठगी उपर कानूनी कारबाहीको दायरा रहदैन ।

ढुकुटीको बड्दो लोकप्रियता सँगै मानिसहरुले अन्य व्यापार व्यवसायबाट लगानी निकाली ढुकुटीमा लगानी बढाएका छन् । यसले गर्दा बजारमा उत्पादनशील क्षेत्रमा लगानी घटेको छ साथै ठगीको क्रम पनि बढेको पाइएको छ जसले गर्दा आत्महत्या, हत्या जस्ता अपराधहरु बढ्ने क्रममा छन् । बैैंक तथा वित्तिय संस्थाहरुमा ठूलो रकम एकैदिनमा बचत गरिने र दोस्रो दिन निकालिने भएकाले अस्थिरता बढाएको जानकारी एक बैंकरले दिए ।

किन नियन्त्रणमा छैन त ढुकुटी?

प्रायस् गोप्यरुपमा घर, रेष्टुराँ वा त्यस्तै सुरक्षित स्थानमा खेलिने भएकाले ढुकुटीको खबर प्रहरीकोमा पुग्दैन । पुगिहालेको खण्डमा पनि पर्याप्त प्रमाण पु¥याउन गा¥हो हुने र उच्च ओहोदाका सरकारी कर्मचारी, राजनैतिक नेता र प्रहरी अधिकृतहरुकै श्रीमतिहरुको संलग्नता हुने भएकाले स्थिति अझ कठिन रहेको जानकारी नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले दिए । प्रहरीको जानकारीमा ठगी भएको तथा आत्महत्याको केसहरु आएतापनि उजुर गर्नेहरुले ढुकुटीको कारणले भएको भनेर उल्लेख गर्न नरुचाउने गरेको पाइन्छ ।


यसरी नेपालमा प्रत्येक शहरमा झाङगीदै गरेको यस खेलले रेष्टूराँ व्यवसायलाई छाडेर अन्य सबै क्षेत्रलाई नकारात्मक असर गरेको पाइन्छ । भएका व्यापार व्यवसाय धमाधम बन्द हुदैँ ढुकुटीमा हुने गरेको लगानीलाई तुरुन्त रोक्न पहल नगर्ने हो भने निकट भविष्यमा यसले समग्र अर्थतन्त्रलाई नै ओरालो तिर डोहो¥याउने निश्चित प्रायस् छ । यसका लागि आजै देखि सबैले आ-आफ्नो स्तरबाट लाग्नु जरुरी भैसकेको छ । बन्द गरौं ढुकुटी !!

23 February 2012

शहर चर्चा

अघिल्लो दिन समसुहाउँदो देखेको संरचना भोलिपल्ट भत्किसकेको हुन्छ, दुःख पनि लाग्छ, सँगै सडकहरु बिस्तार हुँदै छन् भनेर अलि सन्तोष पनि लाग्छ । तर जे जसो भए पनि बानेश्वरमा मानिसको भिड सधैँ नै हुन्छ, जस्ताको त्यस्तै । आखिर काठमाडौंको मुटु हो क्यारे (सबै ठाँउलाई यहाँ मुटु नै भन्ने चलन छ, त्यहि पछ्याएको हो मैँले पनि । मान्छेको चाँहि एउटा मुटु हुन्छ, शहरको कत्ति हुन्छ मलाई थाहा भएन) ।


बानेश्वरको ६०१ बैठक भवन अगाडिको पानी ट्याङ्कीको डल्लो थामेको संरचनाको तलपट्टिको दिवाल सँगै रहेको यी दिदीको चिया पसल, रामकसम सबै लोकमा चर्चा छ । सभासद देखि सभामुख सम्म, बैङ्कर देखि हकरसम्म, बिकासे कार्यकर्ता देखि व्यापारी सम्म, सबै यी दिदीको चियाको फ्यान् हुन । म त्यो फ्यान्का् भिडमा नपर्ने त कुरै भएन । चिया पनि त अचाक्ली मिठो छ, चाख्नु भएको छैन, भने चाख्नुस एक पटक, एक कपको १२ रुपैँया मात्रै हो ।
केहि दिन अघिको एक साँझ, एक दिन अगाडि चिया खाएको पसल झ्यापझुप्प प्लाष्टिकले छोपेको देखेर वाल्ल परे । हैन कहाँ गइछन् यी साहुनी दिदी आज भनेर आँखा डुलाउँदा नजिकै भेटि हाले ।

‘‘हैन दिदी आज चिया नखुवाउने ?’’ मँैले सोधिहाले ।
‘‘ खुवाउँन त खुवाउथे तर खोल्नै दिदैनन्, पसल ।’’, दिदीले गुनासो पोखिन ।
‘‘किन र दिदी ?’’ मैँले मन थाम्न सकिन ।
‘‘ आज पनि नगरपालिकाका मान्छे आएका छन्, तीनका बाजेहरुलाई यो हटाउनु पर्यो रे’’, दिदीले एकै श्वासमा आक्रोश पोखिन् । मैँले कुरोको चुरो बुझिहाले ।


बानेश्वरमा छिर्केमिर्के पोसाक लगाएका सशस्त्र प्रहरीहरु देख्नु कुनै ठूलो कुरो भएन, झन् अहिले शहर भत्केको भत्कैछ । अनामनगर तिर जाने सडकको छिर्ने मोडमा माछा पसल र पान पसल भएको घर झ्वाम्म भत्केको थियो, साथै यी दिदीको चियाको पसल छेऊको पिपलको रुख पनि जरै देखि उखेलिएको थियो । तर त्यस कुराले यी दिदीलाई खासै फरक नपार्नु पर्ने, तर नगरपालिकाका कर्मचारीको उपस्थितिले स्थिति प्रतिकूल पारिदिएछ । सडक छेउ गरिएका व्यापारमा उनीहरुको आँखा लागेको रैछ यस पालि ।
मैँले उनको कुरामा विरोध पनि जनाइन, न सहमति नै, तर छेउमै भएको एउटा साथीलाई चाँहि सोध्न भ्याइहाले, ‘‘ ओए केटा, यो सडक छेऊमा व्यापार गर्नु ठिक कि बेठिक ?’’
‘‘ह्या, यी सबलाई हटाउनु पर्छ, पेटीमा हिड्न कम झ्याउँ हुन्छ ’’
‘‘कुरा त ठिकै गरिस् तर त्यो तैँले अस्ति १६० रुपैँयामा किनेको जुत्ता अरु ठाँउ किन्न पाउँथिस्, सिटि सेन्टर वा सिभिल मलमा त त्यो बेच्दैन होला नि ?’’
‘‘त्यो त हो, तर यसले गर्दा सडक दुर्घटना हुने सम्भावना त हुन्छ नि !’’
‘‘न्यू रोडको भित्रि सडकहरुमा, सडक आधा ढाक्ने गरी चिल्ला कारहरु राख्दा चै केहि नहुने, कसैले सडकमा त्यसको साटो व्यापार गर्यो भने चैँ सबैको टाँउको दुख्ने ’’
‘‘त्यो त हो ! ’’
लौ एकजनाले भए पनि मेरो बिचार प्रति सहमति जनायो । हाम्रो कुरा सुनेको पनि नसुनेको झैँ गरेर सँगै एकजना वृद्धा बसिरहेकी थिइन्, टुकरुक्क । शुरुमा त कुरा गर्न त्यति नमाने पनि एक छिनमा ती बृद्धाले कुरा खोलिन । ५८ साल तिर एउटा भएको छोरोको पनि विदेशमा मृत्यु भए पछि, बुहारी र सानो नातिलाई चेपेर काठमाडौं छिरेकी रहेछिन् । गाँउमा भएको अलिकति जग्गा पनि धितो राखेको र बैङ्क धितो सकारे पछि उपाय नभएर बाटो लागेकी रै’छिन्, ती बृद्धा र अलिकति ऋणपान गरेर सासु बुहारी भएर सडक छेऊ सानो तरकारी पसल बिछाएकी रै’छिन । अघिल्लो पटक त जोगिएछ तर यस पटक भने नगरपालिकाको गाडिमा उनको व्यापार, गरी खाने मेलो सकिएछ । अब कसरी भँुडी पाल्ने र अब फेरी शुरु गर्न कता ऋण खोज्ने चिन्ताले उनलाई ढाकेको थियो, अब उपाय के त ?अघिल्लो साँझ मिनभवनको उरालोमा लाग्ने ठाँउमा नगरपालिकाका बडा हाकिमले आफ्नो सानदार कार सडक किनारमा रोकेर फूलको बुके झैँ एक मुठो साग कारको पछिल्लो सिटमा राखेर हुइँकिएको याद आयो । आखिर हुकुम चलाउनेहरुलाई पनि त तरकारी त सडकै चाहिदो रै’छ त ?



सडक व्यापार के आफैँमा शहरको समस्या हो त ? सरकारी ओहोदामा बसेकाहरुको उत्तर हो भन्ने आउँछ, र अधिकांश हाम्रो पनि तर न्यून आय भएकाहरुको एउटा गतिलो गरी खाने साधन हो, सडक व्यापार । सस्तो र ताजा तरकारी खोज्न जसको पनि सहज गन्तव्य हो सडक व्यापार । एसी भएको पसलमा रु १००० पर्ने चाइनिज जुत्ताको रु २५०मा सहज खरीदारी गर्ने स्थल हो सडक व्यापार । आर्थिक हिसाबमा समग्र अर्थतन्त्रलाई कस्तो असर पारेको छ भन्ने कुरा, अहिले खोज नगरौँ तर सामान्य जनजीवनको सहज र शुलभ विकल्प हो सडक व्यापार । हजारौ गरी खाने वर्गको रोजिरोटी हो सडक व्यापार, खै त यो कुरा हाम्रो सर्वहारा वर्गको नेतृत्व गर्ने सरकारले बुझेको ? साँच्चै, सडक व्यापारले शहरको सुन्दरता विग्रिन्छ भने, त्यस्ता व्यापार र व्यापारीहरुलाई उचित जिविकापार्जनको विकल्प दिइनु पर्दछ र हामी जस्ताले फेरी पनि भोलिको दिनमा १६०मा जुत्ता किन्न पाउनु पर्छ, अनि मात्रै केहि गरे ठिक होला, होइनभने गरीब जनताको ढाड मिचेर उभिएको शहरको जग बलियो हुदैन । होशियार !!

06 December 2011

हजुरआमा मैँले जे देखेँ-३; हरे राजनीति !!


हजुरआमा, बिहान हतार हतार उठेर कलेज गएर एउटा क्लासपनि राम्ररी लिन भ्याएको हुदैन, साथीहरुको पछि पछि लागेर खाल्डोको चिया पसल गएर चियाको चुस्की लिन गइहालिन्छ । अब पसलमा चिया कुर्ने अनि चुस्की हाल्ने क्रममा गफ गाफ त हुने नै भयो । पसलमा उपलब्धहुने पत्रिकामा आँखा गई नै हाल्छ । पत्रिका पढ्ने क्रममा हेडलाइनबाटै शुरु गर्ने गरिन्छ, स्वभाविक नै हो । अब नेपालका अधिकांश पत्रिकका हेडलाइन त राजनैतिक नै हुन्छन, एउटा आधा पढ्न राम्ररी भ्याएको हुदैन अर्कोको टुटेफूटेको विश्लेषण शुरु हुन्छ ।

''यी नेताहरुले कहिल्यै पनि देशलाई उभो लगाउने भएनन् । हिजो देश र जनताका लागि त्यत्रो संर्घष गरेर आएकाको त यो ताल छ, अरु बसि खाइ गरेर राजनीति गर्नेका त के कुरा गर्नु ?'' एकबिहानै नेताहरुलाई गाली गरेर विश्लेषण शुरु हुन्छ । ''हो त हेर्न, जहिले नि कुर्सी भनेका छन्, सत्ता भनेका छन्, जनताको दुखः, पीर यीनिहरुलाई कहिल्यै मतलब हुने भएन,'' अर्कोले थप्छ । यसै बिचमा अर्काले अलिकति बुझेको जस्तो गरेर सकारात्मक काम पनि भइरहेको र संक्रमणकालमा यस्तै हुने ब्योहराको जानकारी राख्दछ । लौ हुटिट्याउले सगर थामेको मैँले देखेँको छैन, सबैका कुरालाई सम्मान गरे जस्तो गर्दै क्लास लैजाने पहल म नै गर्छु । तपाई नाति भएको सार्थकता पनि त जनाउनु पर्यो नि हैन, हजुरआमा?

हजुरआमा, अब क्लास लागि भनेर त आइयो, तर सबै विद्यार्थी त बाहिरै छन् भन्ने खबर आइपुग्न बेर लाग्दैन । कारण त सधैँ जस्तै त होला नि, कुन विद्यार्थी नेतालाई के चित्त बुझेन जस्तो छ आज पनि । लौ यस्तै हुन्छन् नेपालका कलेज भनेर झोला बोकेर कोठा आइपुग्दा सम्म बाटोमा, गाडिमा अनि कोठा पुग्ने गल्लीमा भेटिएका मानिसहरुको राजनैतिक विश्लेषणले कान अछुतो रहन सक्दैन । कोठामा आइपुग्दा परै सम्म प्रष्टै सुनिने रेडियोमा घन्कीरहेको हुन्छ, ''डा. भट्टराईको अमेरिका भ्रमण फलदायक, आज स्वदेश फर्किने'' । त्यति नै बेला, मेरा सम्झनामा आफ्नै साथीहरुको सर्कलमा अलिकति फरक बिचार प्रकट गर्नेलाई उग्रवामपन्थी, प्रतिगामी र वैद्य पक्षधर भनेर ब्यङ्ग गरेको कुरा पनि आइपुग्छ । हरे राजनीति !!

हतार हतार अफिसका लागि हिडेपनि सवारी सधान देखि बसस्टाण्डसम्म राजनीतिकै कुरा हाबि हुन्छन्, प्रत्येक छलफलमा । आ-आफ्ना विश्लेषण र आ-आफ्नै तर्क । सबैको तर्कमा उस्तै जोश, जुन आफैँमा धेरै शक्तिशाली छन्, लबजबाटै सहज अनुमान लगाउन सकिन्छ । यो पंक्तिकारले मसिनो मुस्कान सहित खुशि व्यक्त गर्छ, हाम्रा देशका प्रत्येक जनता देशका लागि कत्ति चिन्तीत छन्, यी तीनै जनता हुन, यी तिनै विद्यार्थी हुन जसले २४० वर्ष पुरानो शासन संरचनाको जरो उखालेर फ्याँके । हो यी तिनै जनता हुन जो राजनैतिक कुराका चेतना अधिक राख्दछन् । देशमा शासन गर्नेहरुले तलमाथि गरेमा जस्तो पनि परिणाम भोग्न सक्छन् वा यी जनताको धैर्यको सिमा नाघेमा कोहि बाँकि रहने छैनन् । २००७ देखि अहिलेसम्मका प्रत्येक क्रान्तिका साक्षी बनेका यी जनताले आफूलाई सुहाउँदो शासन ल्याउन, बिकासका चाहना पूरा गर्न जस्तो सुकै क्रान्ति गर्न पनि तयार हुनेछन् । साँच्चै खुशिको कुरा हो ।

अफिस आइपुग्दासम्म मेरो मुस्कानले मेरो साथ छोडिसकेको हुन्छ । मेरो मनले ६२/६३को आन्दोलन ताका राष्ट्रिय झन्डा भन्दा राजनैतिक झन्डाको संख्या धेरै भएका कुरा सम्झन पुग्छ । हामी राष्ट्रको हित बिचार गरेर आन्दोलनमा होमिएको थियौ कि हाम्रो पार्टीको स्वार्थका लागी अघि बढेका थियौ भनेर प्रश्न गर्छ । अघि सम्म खुशि भएको मेरो नाती किन एक्कासी दुःखी भयो भनेर तपाईले अनुमान लगाइसक्नु भयो होला हैन ?, हजुरआमा । हो तपाईको अनुमान सहि हो, यो राजनैतिक विश्लेषणको बिचमा, हो हल्लाको बिचमा खै त आर्थिक कुराका टिप्पणी । आफ्ना विगतका राजनैतिक सफलताको बडाई चढाई गर्दा फुरुङ्ग पर्ने हाम्रो मन किन देशको ब्यापार स्थिति नाजुक हुदाँ अलिकति पनि खुम्चन मान्दैन । बिहार जस्तो राज्यले पनि दोहोरो अङ्कको आर्थिक बृद्धिदर हासिल गर्दा प्रत्येक बजेट भाषणमा प्रक्षेपण गरिएको बृद्धिदरको छेउछाउ पनि कहिल्यै नपुग्दा किन रत्तिभर पीर मान्दैन हाम्रो मन ? किन नेप्से परिसूचकको समाचार बज्दा रेडियोको च्यानल परिवर्तन गर्न उदृत रहन्छौ हामी ? दस वर्षे तथाकथित जनयुद्धको प्रत्येक कुरालाई सम्बोधन गरिन खोज्दै गर्दा किन भत्केका संरचनाको पुनः निर्माण पनि हुने खबर हामी सुन्न पाउदैनौ ? राजनीतिको कुरा सधैँ गरिरहँदा, अर्थ-राजनैतिक कुरा गर्न हामी किन पछि परिरहेका छौ ?

हजुरआमा, म स्कूले विद्यार्थी हुँदा मेरा एकजना शिक्षकले भनेको कुरा अझै पनि झल्झलि सम्झन्छु, ''दुनियाँले जुनमा पुगे पनि, हामी नेपालीहरु सधैँ नूनमा झुन्डिरहने छौ''। वास्तवमा एक अर्थमा यो कुराको सार्थकता अहिले पनि उत्तिकै छ । सँगैका राष्ट्रहरुले आर्थिक उन्नतिको शिखरमा पुग्दा पनि हामी अझै पनि खच्चरलाई नून बोकाएर डाँडा पारी पुर्याउन नै अभयस्त छौ । त्यसैले अरुले बुझुन नबुझुन हजुरआमा, मैँले भने बुझको छु, यदि राष्ट्रको सहि अर्थमा आर्थिक बिकासको चाहाना राख्ने हो भने, आर्थिक मुद्दाको बहस हुनु पनि उत्तिकै जरुरी हुन्छ । प्रत्येक नागरिकको बुझाइमा आर्थिक मुद्दा पनि राजनैतिक मुद्दा जत्तिकै सहज रुपमा लबजमा उपलब्ध हुनु पर्छ । नत्र सधैँ यस्तै राजनैतिक बहस मात्रै हुने हो भने आर्थिक उन्नति आकाशको फल आँखाँ तरी मर भने जस्तै मात्रै हुनेछ, र प्रत्येक दिन खस्रो राजनैति मन्त्र मात्रै जप्ने हैसियतमा हामी हुने छौ- प्रत्येक नेपालीले सधैँ बिहान घण्टी बजाउँदै भन्ने छौ, हरे राजनीति हरे राजनीति !!

25 November 2011

हजुरआमा मैँले जे देँखेँ–२; गरे त कसो नहोला?


''खै त हजुरआमा?'' मैँले कुरा कोट्टयाए, ''मेरो गुनासो सुनेर पनि तँपाईको अर्ति आएन नि?''
रिसाएझैँ गरेर मेरो मुखमा हेरेर भन्नुभयो, ''मैँले भन्न नखोजेको हो र, तँ नै कहिले कता, कहिले कता, सुन्ने फुर्सद कहाँ छ र तँलाई?''
हुन पनि हो मेरै टुङ्गो नभएर नै हो, ठुलै कुराको गुनासो गरेपनि हजुरआमाका समाधानका उपाय सुन्न नपाइएको । खैर, अब मनस्थिति नै बनिसकेपछि किन ढिला गर्ने, अलिकति फ्लास्ब्याक गराउनु पर्यो भन्ने सोँचे ।
''हजुरआमा त्यहि क्या त विद्यार्थी छुट त भन्छन् तर पूरा छुट दिदैनन् नि, के गर्नु अब?'', ''मैँले अस्ति गुनासो गरेको थिए नि ।'' मेरा कुरा सकिन नपाउदैँ हजुरआमाले जिवन्त मुस्कानका साथ टाउको हल्लाउनु भयो र भन्नुभयो, ‘‘बाबु यस बिषयको समाधान गर्न गरे त कसो नहोला!!''
हो त है, गरे त कसो नहोला? तर मेरो बबुरो दिमागले के गर्ने पत्तो लगाउन सकेन । मेरो मनोविज्ञान बुझेर हजुरआमाले विगत कोट्टयाउनु भयो, ''हेर बाबु, हाम्रो देशमा कानून र नियमको पालना कमै हुन्छ, यसको मुख्य कारण भनेको चैँ हामी नै हौ, तथापि पटक्कै नहुने चै होइन । हामी सबैलाई थाहा नै भएको कुरा हो, ट्याक्सीमिटर काण्ड ।''

मैँले थाहा भएको प्रमाणित गर्न टाउको हल्लाए । सम्झनामा पनि आइहाल्यो, प्रहरीले त फर्जी मिटर बनाएर यात्रु ठग्ने नियत भएका ट्याक्सी चालकहरुको त बातो बसाएकै हो । मेरो मनले पनि त्यति बेला नेपाल प्रहरी र जिम्मेवार निकायको राम्रै तारिफ गरेको थियो । तर यो कुराको तालमेल मेरो कुरा सँग खासै पहिल्याउन सकिन, हजुरआमाकै मुख तिर लाट्टिए ।
“सुन बाबै”,हजुरआमाले कुरा अघि बढाउनु भयो, “जसरी प्रहरीहरु र अरु जिम्मेबार निकायको सक्रियतामा मिटरमा चल्ने ट्याक्सीहरुको अनियमितता अगाडि आयो वा त्यसपछि साधारण जनताले राहत महशुस गरे, त्यसैगरी यो कुरालाई पनि साधारण अनुगमनले समाधान गर्न सकिन्छ । हामी सबैको सोचाइ रहन्छ, जाबो एक–दुई रुपैँयाको लागि कस्ले कुरा गर्ने तर सबैको एक–दुई रुपैँयाले समष्टिगत रुपमा ठुलै महत्व राख्दछ । आफैँ सोचे पनि त भयो, एक रुपैया नभई सय रुपैँया हुदैन, उनान्सय मात्रै हुन्छ, वा भनौँ विद्यार्थीहरुलाई वा अन्य त्यसतै वर्गले पनि एक रुपैँयाको महत्व बुझकै हुन्छ । अब कुरा आउँला, अनुगमन कसरी गर्ने ? यसका लागि पनि त विशेष सरकारी तामझाम त पक्कै होला, त्यस माथि यो त नेपाल !! तर कुरा र काम जति सजिलैसँग सल्टाउन खोजो, त्यो त्यति नै सजिलो हुन्छ, मात्र नियत ठिक चाहिन्छ ।”

यहाँ निर आइपुग्दा मलाई थामिनसक्नु भयो, हजुरआमाले त सजिलै, अनुगमन गरे समस्या समाधान हुन्छ भनेपनि त्यसतो हुनेमा शङ्का लाग्यो । बिचैमा रोकेर जान्ने भई टोपले, “त्यति सजिलो कहाँ छ त अनुगमन, हजुरआमा?”
“यहि त छ हाम्रो सोचाई, कुनै पनि कुरालाई तानबुन गर्न हामी बडो सिपालु छौ”, हजुरआमाको अनुहारमा धैर्यता प्रस्टै देखिन्थ्यो,“ आफ्नो जिवनको भोगाईलाई समस्यासँग जोडेर हेर्ने हो भने गाह्रो छैन, जस्तै नियम विपरित भाडा उठाइएको कुरा थाहा छदैँछ, यसैमा कुनै एक प्रहरीले मात्रै एक दिन सादा पोसाकमा सार्वजनिक सवारी साधनमा यात्रा गरेर नियम विपरित भाडा उठाएको पाएमा वा तोकिएको छुट नदिएको पाएमा दोषिउपर साधारण कारबाहि गर्ने हो भने अनि अरु दुई–चारजनाले साथ दिने हो भने नेपाल न हो, खबर फैलिएर भोलिपल्टदेखि सब टुङ्गो लाग्छन् ।”

कुरा त ठिकै हो तर को तयार हुने र शुरुमा ? कसलाई फुर्सद छ र हामी विद्यार्थीको कुरा बुझ्नलाई ?
“हेर बाबै, सबैका घरमा विद्यार्थी हुन्छन् र जस्ता भए पनि विद्यार्थी समस्या एउटै हो र एउटा मात्रै प्रहरी अभिवावकले कुरा बुझेर शुरुवात गर्ने हो भने त अरुले पनि साथ दिइ नै हाल्छन नि, अनि त साहस गरे सफल कसो नहोइएला, गरे त कसो नहोला?”
“हो हजुरआमा, तँपाईले भनेको कुरा सोहै्रआना सहि हो । गरे त कसो नहोला ।”
हजुरआमाको साधारण तर गहकिलो उपाय ठिक लागेर म झोला बोकेर निस्किहाले, राजिवलाई भेट्न्, त्यसका बा त नेपाल प्रहरीका सहि हुन नि त !!

तस्बिर सौजन्य: www.binodgautam.blogspot.com

09 November 2011

हजुरआमा मैँले जे देखेँ-१; मेरो चाँहि लिन्छु, तिम्रो दिदै दिन्न !!


हजुरआमा, मेरो वास्तविक पेशा विद्यार्थी हो, र स्वाभावले पनि म विद्यार्थी नै हूँ । हाम्रो देशमा विद्यार्थीहरुको विशेष योगदान रहेको छ, यो कुरा जगतलाई थाहा छ । तपाई पनि ऊ जमानामा विद्यार्थी हुनुहुदो हो । तपाईहरुको मिहेनत र परिश्रममा हाम्रा गनाउने पसिना जोडिदा यो देशले धेरै कुरा पाएको छ । अझ राजनीतिका त कुरै छाडौ, देशका समग्र राजनैतीक उपलब्धिमा विद्यार्थी वर्गको विशेष योगदानको चर्चा राइ दाईको समोसा तार्ने तेल जस्तै हो, सधैँ तातो को तातै । आजका बलिया-बाङ्गा नेताहरु देखि हैकम राख्ने नेता सम्म विद्यार्थी राजनीतिको बलमा माथी पुगेका हुन, भनिरहनु नपर्ला । त्यै भएर पनि राज्यले विद्यार्थीलाई सधैँ मान-मनितो गरिआएकै छ । हुन त विद्यार्थीहरुले नि समय-समयमा सडक उचालेका पनि छन् । जे जसरी होस्, राज्यले विद्यार्थीहरुलाई हेरेकै छ । हेर्नु पर्ने अर्को कारण विद्यार्थी जिवनमा खड्किने कड्की पनि हो, जुन जस्तो सुकै विद्यार्थीले झेल्नै पर्छ ।


पढ्ने मात्रै पेशा भएका विद्यार्थीहरुलाई बा-आमाले दिएको ठिक्क रकमले सबैकुरा पु¥याउने आफ्नै धौधौ हुन्छ । साथीभाइहरुसँग कलेजको क्याइटिनमा खाँदा(खाँदै कहिले काँहि त धेरै खाइहालिन्छ, गर्लफ्रेन्डले पनि कहिले मुभि जाऊ भनि हाल्छे, यसो उसो गर्दा बजेटमा रास आइहाल्छ, अनि जोगाएर खर्च गर्न कर लागिहाल्छ, महशुस भइहाल्छ, एक रुपैँयाको पनि कत्रो मोल हुन्छ भनेर । अब कुरा गरौँ काम गर्ने विद्यार्थीका । पढाइ सँगै अरु पेशा पनि अगाल्ने वा श्रृगार नगरी सिधा भाषामा भनौं, काम गर्ने विद्यार्थीहरु पनि आफ्नै रडाँको छ । घरमा सजिलै भनि दिन्छन्,'' ए तैँले कमाइ हाल्छस्, आफ्नो खर्च र पढाईको खर्च त बेहोरिहाल्छस् नि ।'' अलि थोरै तलब हुने त भनिहाल्छन् यत्ति कमाको त आफ्नै खर्च थेक्दैन, पढाइको खर्च चाँहि कहाँ बाट ल्याउनु, फुत्किन सजिलो पनि छ, तर ठिक-ठिकै कमाउनेहरुलाई भने ठूलै फसाद छ । पढाइको खर्च पनि आफै बेहोर है भन्दा नाई कसरी भन्नु, हुन्छ भन्नै प¥यो, मुसुक्क हास्नै प¥यो । हुन्छ त भनियो तर अब मिलाउनको समस्याले सताइ हाल्छ । अब कमाउने भए पछि, काम गरे पछि, घरबाट बिहान खानै खाएर आएको भए पनि दिउँसो खाजा नखाइ चित्त बुझदैन, खाजा खानै प¥यो । पढाईको खर्च छदँै छ, कलेज जाँदा ए तँ त कमाउछस् नि भनेर साथीहरुले अलिअलि दङग्याइ हाल्छन, हस् भन्नै प¥यो । बल्ल बल्ल विदाको दिनमा गलफ्रेन्डले भेट्दा डिमान्ड अलि बढि भैहाल्छ, गोपीकृष्ण छोडेर क्यू.एफ.एक्स. भन्दा नाई भन्यो भने बेलुका फोनको बिल बढाउने बहाना बन्छ, मुन्टो हल्लाउनै प¥यो, अनि त के चाँहियो र बजेटको गडबडि शुरु भै हाल्छ, तलब आउन अझै डल्लै महिना बाँकि छ । यी यस्तै कारणले प्रत्येक लिद्यार्थीले एक रुपैयाँको पनि मोल बुझेको हुन्छ, राम्रो सँग । हजुरआमा, यस्ता सबैकुरा बुझेर नै होला राज्यले विद्यार्थीलाई गाडि भाडा भने सहुलियत देको छ, धन्न प्रभो !!


हजुरआमा, अब कुरा गरौँ, गाडी भाडाको । राज्यले विद्यार्थी भनेर ४५% गाडि भाडामा सहुलियत देको छ । बानेश्वरबाट त्रिचन्द्र पुग्न आफ्नो बजेट छुट्टयाएर पन्ध्र रुपैँयाको लेखाजोखा राख्ने विद्यार्थी धेरै छन् । ढिला हुन्छ कि भनेर हत्तपत्त गाडिमा उक्लियो, कहिले बस्ने ठाँउ पाए त मारिदिनु । लौ नेपाल !! उभ्भिएर जाऔँ न त, नहुनुमा भन्दा कोनिकेमा निको भने झैँ भनेर घुर्सिनु नै प¥यो । भिडमा गुम्सिदाँ गुम्सिदै पैँसा भन्दै सहचालकले कुरा उप्काइहाल्छ । धर्म त छोड्नु भएन, पैसा त दिनु परि नै हाल्छ, खल्तिमा छाम्दा दशको र पाँचको एक-एकवटा नोट । लिनुुस दाई कार्ड छ, भनेर दशको नोट दियो, लिएर सहचालक अर्कै तिर व्यस्त, फर्केर हेर्ने फुर्सदै हुदैन वा नियतै हुदैन भग्वान जानून । झर्ने बेला भयो, बाँकि पैसा फिर्ने कुरै कतै निस्कदैन । दाइ मेरो फिर्ता खोइ त ? भनेर कुरा मात्र के खसालिएको हुन्छ, दिदैँ छु त कत्ति किचकिच गरेको भनेर प्वाक्क खाइन्छ । रत्नपार्क झर्नुस है भनेर भन्दा सम्म फिर्ता पैँसा खै कता हो कता ? गाडिबाट ओर्लदै माग्यो अनि बल्ल मन भारी पारेर खल्तिमा हात हाले जसो गर्छन् सहचालक मित्र, अनि ङिच्च हास्दै भन्छन्, दाइ चानचुनै रहेनछ, अर्को चोटि लिनु है १ लौ, अब परेन त फसाद१ यत्ति भन्दा नभन्दै गाडी घुइकीहाल्छ, अब त्यै गाडिमा अर्को चोटि कसरी चढ्नु वा दुई रुपैँयाका लागि कता दौडिनु ? लौ, दुइ रुपैया त हो नि भन्यो माया मा¥यो ।
कलेज त आइयो, पढियो पनि, अब घर त जानु पनि त छदै छ । चढ्न भ्याएको हुदैन, भाडा पाउँ त भनेर सुनिहालिन्छ । लौ आपत, दश रुपैँयाबाट त फिर्ता आएन अब के गर्ने ? अघिको गाडिमा जस्तो भयो त्यसै गर्ने, गोजिबाट पाँच रुपैँया निकाल्ने दिने, बजेटमा त मर्का पार्नु भएन ।

यत्ति ले त पुग्दैन अरु दिनुस ।

अब बार्गेन गरिहेरौ न त १ दाई बानेश्वरसम्मको भाडा कत्ति रुपैँया ?

१३ रुपँैया ।

४५% को हिसाबले कटाएर दिदाँ ७.१५ रुपैँया हुन आउँछ ।
ए उसो भए विद्यार्थी भाडा सात रुपैँया हो त दाई ?

कहाँ सात रुपैँया खुरुक्क आठ रुपैँया झिक्नुस् न ।
लौ १५ पैसा चै छोड्न नमिल्ने, ८५ पैसा चैँ बढि लिनु हुने ? यो कहाँको काइदा हो ? यसै छोडिन मैँले पनि ।

होइन दाई, सातै रुपैँया हो, यो समाउनुस् पाँच रुपैँया, दुई रुपैया पछि मिलाउला नि हुन्न?

पछि मिलाउला रे, के हो त्यो भनेको ? तपाईलाई फेरी कहिले भेट्ने ? धेरै किचकिच नगरीकन खुरुक्क दिनु न, कस्तो किचकिचे मान्छे रुछ बा ?

हजुरआमा, अब भने यता उताका मान्छे पनि हेर्न थाले । इज्जत त जोगाउनै प¥यो । केहि नलागेर पर्सबाट पाँच सयको नोट निकालेर दिए, उसले दुई रुपैँयाका लागि पाँचसयको नोट खुरुखुरु साट्यो र बानेश्वर आयो झर्नुस भन्यो । म वाल्ल परेर गमी रहे, मेरो सधैँको यस्तो दैनिकीलाई सोचिरहे ''यो कस्तो सहुलियत हजुरआमा ? यो कस्तो छुट ?''


यस लेखको आगामी अङ्कमा हजुरआमाको सुझाव सहित, हजुरआमा मैँले जे देँखे -२ मा प्रस्तुत गर्नेछु ।